काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उहाँहरुबीच छलफल भएको हो ।
अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालका अनुसार सो अवसरमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।”
नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने मन्त्री शर्माको भनाइ थियो । उहाँले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेकाले नेपालमा हरित अमोनिया, हाइड्रोजनजस्ता वैकल्पिक ऊर्जा उद्योगमा सहयोग गर्न उपाध्यक्ष लाभाषासँग अनुरोध पनि गर्नुभयो ।
नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्रलगायतमा लगानी आवश्यक भएकाले एसियाली विकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि मन्त्री शर्माले अनुरोध गर्नुभयो । कोभिड–१९ महामारीको बेला एसियाली विकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगका लागि उहाँले धन्यवाद दिनुभयो ।

