बाजुरा। बाजुरामा पछिल्लो समय कृषकहरू आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन्।
जीविकोपार्जनका लागि सहज र नगदे बालीका रूपमा चिनिएको आलु खेती अहिले यहाँका किसानहरूको मुख्य आम्दानीको स्रोत बन्दै गएको छ। जिल्लाका प्राय सबै ग्रामीण भेग र बजार क्षेत्रमा समेत आलु खेती विस्तार हुँदै गएको देखिन्छ।
बडिमालिका नगरपालिका–५ का कृषक सुरत बहादुर साउँदका अनुसार आलु बिक्री गरेरै वर्षमा राम्रो आम्दानी हुने गरेको छ।“पहिले अन्य बालीमा भर पर्थ्यौँ, अहिले आलुले नै घर खर्च धान्न सहज भएको छ,” उहाँले भन्नुभयो। उत्पादन राम्रो हुने र बजारमा माग स्थिर रहने भएकाले आलु खेती किसानका लागि लाभदायक बन्दै गएको उहाँको अनुभव छ।
जिल्लाका नौवटै स्थानीय तहमा आलु उत्पादन राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। विशेषगरी हिमाली र पहाडी क्षेत्रको हावापानी आलु खेतीका लागि अनुकूल भएकाले उत्पादन पनि गुणस्तरीय हुने गरेको छ। यहाँ उत्पादन हुने आलु अर्ग्यानिक र स्वादिलो हुने भएकाले स्थानीय बजारसँगै बाहिरी जिल्लामा समेत यसको निर्यात हुने गरेको छ।
केही वर्षयता आलुको बीउ, प्रविधि र कृषि सामग्रीमा सरकारले अनुदान दिन थालेपछि किसानहरूको आकर्षण अझै बढेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीले बताउनुभयो ।
आलु खेतीबाट छोटो समयमै उत्पादन लिन सकिने, कम लगानीमा राम्रो आम्दानी हुने र बजार सुनिश्चित हुने भएकाले बाजुरामा यसको सम्भावना अझै बढ्दो रहेको सरोकारवालाहरूको भनाइ छ। उचित बजारीकरण, भण्डारण र प्रशोधनमा ध्यान दिन सके आलु खेतीले जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने स्थानीयको विश्वास रहेको छ।

