ताप्लेजुङ। ताप्लेजुङमा यसवर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । विगतको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । विगतको वर्षभन्दा यस वर्ष एक मेट्रिक टनबढी सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ।
गतवर्ष तीन सय ४० दशमलव पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष गएको वर्षभन्दा एक मेट्रिक टन अर्थात ३४१ दशमलव पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको सम्पर्क कार्यालयका प्राविधिक सहायक केदार धितालले बताए । यस वर्ष करिब ३३ लाख रुपैयाँ बराबरको सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेको छ ।
प्राविधिक सहायक धितालकाअनुसार जिल्लामा कुल ५४ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट उक्त परिमाणमा सुन्तला उत्पादन भएको हो । जिल्लामा किसानले सुन्तला खेती भने गर्न छोड्दै गएका छन् । आजभन्दा आठ/नौ वर्ष अघिसम्म एक हजार ७०० हेक्टर क्षेत्रफलसम्म जिल्लामा किसानले सुन्तला खेती गर्ने गरेका थिए।
तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार विगत आर्थिक वर्ष २०७०/७१ मा एक हजार ६८२ हेक्टर क्षेत्रफलमा किसानले सुन्तला खेती गरेका थिए । उक्त क्षेत्रफल बराबरको खेतीबाट छ हजार ९३८ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क रहेको छ । विगतका वर्षहरुमा सुन्तला राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रो गर्दै आएका किसानले सुन्तलामा विभिन्न रोग तथा कीराको प्रकोप देखिएसँगै खेती छोडेका थिए।
विभिन्न रोग तथा प्रकोपका कारण सुन्तला खेती मासिएपछि अहिले सीमित क्षेत्रमा मात्र किसानले खेती गर्दै आएका छन् । हाल स्थानीय सरकारका रुपमा रहेका नगरपालिका तथा गाउँपालिकाहरुले सुन्तलालगायत फलफूलजन्य खेती प्रवर्द्धनका लागि योजनाहरू पारित गरी निश्चित बजेट विनियोजन गरी किसानलाई अनुदान तथा अन्य सहायता गर्दै आएका छन्।

