काठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)बीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा दुवै बैंक एकआपसमा गाभिन सहमत भएका हुन् ।
समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। दुबै बैंकबीच स्वाप रेसियो १ः१ मा सहमति भएको हो । समझदारी पत्रमा हस्ताक्षर गरेपछि सैद्धान्तिक सहमतिका लागि दुवै बैंक अहिले नेपाल राष्ट्र बैंक पुगिसकेका छन् ।
मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड रहने छ । सञ्चालक समितिमा ग्लोबल आइएमई बैँकको तर्फबाट अध्यक्ष ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन् भने त्यसपछिको स्थानमा बीओकेका श्रवण मास्के हुने छन्।
मर्जरपछि यो बैंक पुँजीका हिसाबले देशकै ठूलो बैंक बन्नेछ । दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। अहिले ग्लोबलको चुक्ता पुँजी २३ अर्ब ७९ करोड छ भने बिओकेको चुक्ता पुँजी १० अर्ब ६२ करोड ।
कूल २१ बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा पाँचवटा ‘क’ वर्गका वाणिज्य बैंक, १० विकास बैंक तथा छ फाइनान्स कम्पनी समाहित भएको इतिहाससमेत बन्नेछ ।
साथै दुवै बैंकले गत जेठ मसान्तसम्म रु छ अर्बभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । दुई बैंकहरूका ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ३७ लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।
बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसर ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी कार्यसम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरूले सयुंक्तरूपमा प्रतिबद्धता व्यक्त गरेका छन् ।
शेयर कारोबार रोक्का
नेपाल स्टक एक्स्चेञ्जले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का गरिदिएको छ । दुई बैंकबीच बिहीबार मर्जर प्रक्रियामा सम्झौता भएपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । यी दुई बैंक एकापसमा गाभिनका लागि आज बिहान ८ बजे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै उक्त मर्जर प्रक्रिया नसकिएसम्म दुवै बैंकको सेयर कारोबार रोक्का हुनेछ ।

