चितवन। पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० बिहिबारबाट सुरु भएको छ । भरतपुर वडा नम्बर ५ विकास चोकमा रहेको मैदानमा सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटनज गर्दै प्रमुख दाहालले खेलकुदको मध्यमबाट टोल, वडा हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका मध्यमबाट देशलाई विश्वमा चिनाउन सकिने उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले अब छिटै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढाउने काम भईरहेको जानकारी दिनुभयो । महानगरपालिकाले खेलकुदमा ७५३ पालिका मध्ये सबैभन्दा धेरै खेल गतिविधि गर्ने पालिकाको रुपमा पुरस्कृत भएको स्मरण गर्नुभयो । प्रमुख दाहालले एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान भरतपुर महानगरपालिकाको नीति नै रहेकाले भरतपुरको खेलकुद गतिविधि वृद्धि हुँदै गएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरमा रहेका २ सय २० निजी तथा सामुदायिक विद्यालयबाट ६४ विद्यालयको मात्र सहभागिता भएकोमा यसको कारण खोज्नुपर्ने बताउनुभयो । उहाँले भरतपुरमा वर्षेनी सहभागितालाई वृद्धि गर्दै लैजानुपर्ने विचार राख्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विभिन्न १८ विद्याका खेल हुने प्रतियोगितमा ६४ विद्यालयका २ हजार ४ सय ७२ विद्यार्थीको सहभागिता रहेको छ । मंसिर ७ देखि १० गतेसम्म चल्ने प्रतियोगिताका प्रथम हुने खेलाडी वा टिमले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन्।

