चितवन । पढेलेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यता अझै हटेको छैन । हातमा शैक्षिक प्रमाणपत्र बोकेर जागिरको खोजीमा कैयौ यृवाहरु भौतारी रहेका छन । तर, चितवनका युवाहरु भने सरकारी जागिर छाडेर गाईपालनमा रमाई रहेका छन् ।
२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका भरतपुर ६, गितानगरका सुजन पराजुलीले पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरे । त्यसको केही समयपछि स्थानीय विद्यालयमा ५ वर्ष शिक्षकको रुपमा काम गरे । सरकारी जागिर छाडेर उनी अहिले घरमै व्यावसायिक गाईपालनमा रमाई रहेका छन । २०६९ सालदेखि उनी व्यवसायिक रुपमा पशुपालन पेशामा लागि रहेका छन् । सरकारी जागिर खाँदा अरुको नियन्त्रणमा बस्नुपरेको थियो उनलाई । तर, अहिले स्वतन्त्र भएर आत्मा सम्मानमा बसेको र महिनाकै एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेपछि यहाँका युवाहरुपनि गाईपालनमा आकर्षित हुन थालेका हुन् ।
त्यसो त यहाँका महिलाहरु पनि गाईपालनमा निकै हौसीएका छन् । नजिकैको एक विद्यालयमा शिक्षकको रुपमा काम गरिरहेकी कबिता थापा पनि स्कुलको समयबाहेक यहि गाई फर्ममा भेटीन्छीन् । पशुपालनमा राम्रो आम्दानी हुन थालेपछि यहाँका कृषकहरु यतातर्फ आकर्षित भएका हुन् । त्यसो त उनले खोले कुँडो, घाँस गर्नकै लागि चारजनालाई रोजगारीसमेत दिएकी छन् । पुरुषहरु रोजगारिको लागि विदेश पलायन हुनुभन्दा परिवारसँगै बसेर व्यवसाय गर्दा सुखदुख बाड्न सहज भएको यहाँका महिलाहरुको बुझाई छ ।
यहाँका प्रत्येक कृषकको फर्ममा १५ वटाभन्दा बढी गाई रहेका छन भने प्रत्येक कृषकले स्थानीय जातका घाँस पनि लगाएका छन् । बैदेशीक रोजगारीकालागि लाखौ रुपैया खर्च गरेर जानु भन्दा आफ्नै देशमा पसिना बगाए राम्रो आम्दानी गर्न सकीने भएकाले यहाँका युवाहरु पनि अहिले पशुपालन व्यवसायमा लागेका हुन ।