चितवन। भरतपुर महानगरपालिका वडा नम्बर २३ ले मिसन–२३ अभियान सुरु गरेको छ । वडाभित्रका २३ वटा टोलमा २३ दिन लगातार तीन घण्टा टोल सुधार समितिलाई सहभागी गराएर समुदायमा जारणसहित सरसफाइको अभियान थालनी गरिएको हो ।
अभियानको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले फोहोर टिपेर थालनी गरेका थिए । मन्त्री जोशीले समुदाय गम्भीर नहुँदा सरसफाइको अवस्था विकराल भएको बताए । ‘व्यक्ति–व्यक्ति स्वयं नलागे सरसफाइ हुँदैन,’ उनले भने, ‘अरुको मुख ताकेर होइन पहिला आफैबाट सुरु गरौँ । त्यसको लागि मिसन–२३ ले सबै वडालाई उदाहरण दिएको छ । ’
घरघरबाट फोहोर व्यवस्थापनको नियमित अभ्यासलाई जागरुक गराई सचेत गराउन वडा कार्यालय लागिपरेको वडाध्यक्ष दीपक दवाडीको भनाइ छ । दवाडीका अनुसार यो २३ दिने मिसन २३ अभियान यत्तिमा मात्र सीमित नहुने र यो २३ दिनपछि पनि स्वतःस्फूर्तरुपमा सञ्चालन हुने दवाडीले बताए । भरतपुर भ्रमण वर्षलाई लक्षित गरी सुरु भएको अभियानअन्तर्गत फोहोरको उचित व्यवस्थापन गर्नेलाई पुरस्कृत गरिने छ भने फोहोर व्यवस्थापनमा लापरवाही गर्नेलाई जरिवानाको व्यवस्था गरिएको र त्यसका लागि तीन सदस्यीय मूल्याङ्कन समिति बनेको वडा अध्यक्ष दीपक दवाडीले बताए ।
वडा सदस्य विनु दराईको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले फोहोरको उचित व्यवस्थापन गर्ने उत्कृष्ट व्यक्तिको पहिचान गर्नेछ । उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गरिने र फोहोर गर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने मूल्याङ्कन समिति संयोजक दराईले बताइन् । भरतपुर महानगरले भ्रमण वर्ष–२०२४ मनाउने तयारी गरिरहेका बेला सरसफाइ तथा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो । ‘बढीभन्दा बढी जनसहभागितामा हुने कार्यक्रममा फोहोरको उचित व्यवस्थापन गर्न सिकाइने छ’, उनले भने, ‘राप्ती नदीमा फालिने प्लास्टिकजन्य फोहोरले प्रकृतिमा असर पुगिरहेको छ । कुहिने फोहोर पनि महानगरको गाडीमा हालिरहेको अवस्था छ । यस्ता कामलाई रोक्न मिसन–२३ अभियान सुरु गरेका हौ ।’ कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतोले सबै वडाले सरसफाइको अभियानलाई मिसनका रुपमा गर्नुपर्ने बताए।
राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको सहकार्यमा प्रत्येक टोलमा पुगेर सचेतना वृद्धि गरिने छ । वडामा २० वटा टोल विकास संस्था, छवटा विद्यालय र तीनवटा सामुदायिक वन छन् । टोल विकास संस्था, विद्यालय र सामुदायिक वनलाई सरसफाइ गर्ने दिन छुट्टयाइएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले मानव बस्तीको फोहोर वन क्षेत्रमा पुग्दा वन्यजन्तुमा असर परेको बताउँदै सचेतनाको लागि आग्रह गरे । कार्यक्रममा वडा सदस्यहरु, चितवन राष्ट्रिय निकुन्ज प्रकृति संरक्षण शिक्षालय, नेपाली सेना खड्क दल कसरा, नेपाल रेडक्रस सोसाइटी उपशाखा जगतपुरलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको अभियान विक्रमबाबा टोलबाट सुरु भएको थियो ।