बारा। काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बस बारामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
बारा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार भारतीय तीर्थयात्री बोकेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई भन्ने स्थानमा दुर्घटना भएको हो।
दुर्घटनामा ७ जनाको मृत्यु भएको उनले जानकारी दिए। ‘३ जनाको घटनास्थलमै र ४ जनाको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो’, दुर्घटनास्थलमा रहेका एसपी बोगटीले भने।
उनका अनुसार मृतकमा ६ जना भारतीय छन् भने १ जना नेपाली छन्। ‘पशुपति दर्शन गरेर फर्किएका तीर्थयात्री रहेछन्’, एसपी बोगटीले भने।
उनका अनुसार घाइते १८ जनाको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।