चितवन । छुवाछुत र विभेदजन्य समस्या हल गर्न सबै दलितहरु एक हुनुपर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले जोड दिनुभएको छ ।
दलित जागरण माडीले आयोजना गरेको अन्तरसंवाद भेट कार्यक्रममा विश्वकर्माले दलित समुदायभित्रै रहेको विभेद हटाउँदै सामाजिक अन्तरघुलनमा सबै लाग्नुपर्ने बिचार व्यक्त गर्नुभएको हो । दलितका हक अधिकारको रक्षा र प्राप्तिका लागि आफू निरन्तर लागिरहने उहाँको भनाइ थियो ।
पूर्वमन्त्री एवं नेपाली काँग्रेसको प्रचार विभाग प्रमुख समेत रहनुभएका उहाँले दलित जतिसुकै विज्ञ, शिक्षित र क्षमतावान भएपनि उसलाई कमजोर र असक्षम ठान्ने प्रचलन जताततै रहेकाले चनाखो भएर भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम दलित जागरण माडी संस्थाका अध्यक्ष दिप्ती विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो । दलित समुदायको बहस र बिचार केन्द्रका रूपमा अगाडि बढिरहेको सो संस्थाले यसअघि नेकपाका पोलिटब्युरो सदस्य खड्क बहादुर विश्वकर्मासंग समेत सोही प्रकृतिको अन्तरसंवाद भेट गरेको थियो ।

