चितवन । चितवनका दुई सञ्चार माध्यमको कार्यालयमा पसेर धाकधम्की दिनेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ चितवन शाखाले आग्रह गरेको छ । चितवन पोष्ट र नारायणी अनलाईनको कार्यालयमा पसेर सञ्चारकर्मीलाई धाकधम्की दिने कार्यको महासंघको घोर निन्दा पनि गरेको छ ।
घटना लुकाउन अक्सफोर्ड कलेजका प्रिन्सिपल हरि भण्डारीका छोरा रोहन भण्डारीसहितको टोलीले चितवन पोष्टका प्रबन्ध निर्देशक गोविन्द अर्याल र नारायणी अनलाइनका प्रधान सम्पादक राजु चौधरीलाई कार्यालयमै पुगेर धाकधम्की दिनुका साथै चेतावनीपूर्ण भाषामा आतंकित पारेका थिए । टिकौली दुर्घटनाको कारक अक्सफोर्डका बस चालकले गाँजा खाएको पुष्टि भएको समाचार प्रकाशित भएपछि दुई सञ्चारमाध्यममा पुगेर धाकधम्की दिइएको हो ।
‘कुनैपनि समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने बाटो रहन्छ । तर, सञ्चार माध्यमको कार्यालयमा हुलसहित गएर धाकधम्की एवम् चेतावनीपूर्ण भाषामा बोल्नुलाई स्वतन्त्र पत्रकारिता माथिको आक्रमण हो भन्ने हाम्रो ठम्याइँ छ’, महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । महासंघ स्वतन्त्र पत्रकारितको पक्षमा सँधै अडिग रहने बताउँदै ज्ञवालीले दोषीमाथि कारबाही गरी सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् ।

