चितवन । भरतपुर महानगरपालिकाले व्यवस्थित पशु बधशाला निर्माण गर्ने तयारी गरेको छ । बजारमा भएका स–साना, अव्यवस्थित र मापदण्ड विपरित सञ्चावन भएका पशु बधशालालाई मापदण्डअनुसार सञ्चालन गर्ने तयारीमा महानगरपालिका जुटेको हो ।
प्रत्येक महानगरपालिकामा अनिवार्य रुपमा व्यवस्थित पशु बधशाला निर्माण हुनुपर्ने प्रावधान रहेको नगर उपप्रमुख चित्रसेन अधिकारीले बताए । महानगर विधि र बिधानमा रहेर व्यवस्थित पशु बधशाला निर्माण गर्ने तयारीमा अगाडि बढेको उनले बताए ।

व्यवस्थित पशु बधशाला निर्माण समितिका संयोजक समेत रहेका उपप्रमुख अधिकारीले अबको केही वर्ष भित्रैमा महानगरबासीहरुले आशा गरेअनुसारको व्यवस्थित पशु बधशाला पाउने बताए। ‘हामी गृहकार्यमा जुटिरहेका छौँ । विभिन्न चरणहरुमा प्रारम्भिक कार्यहरु भइरहेका छनन्’, नगर उपप्रमुख भने।
भरतपुर महानगरपालिका र एनिमल नेपालको संयुक्त आयोजनामा सोमबार महानगरपालिकामा एक दिने पशु बधशाला तथा मासु व्यवसाय व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठी समेत भएको छ । गोष्ठीमा बोल्दै एनिमल नेपालका केन्द्रिय कार्यक्रम व्यवस्थापक सुरक्षाणा राणाले महानगर व्यवस्थित पशु बधशाला निर्माण कार्यमा जुटेकोमा खुशी व्यक्त गर्दै एनिमल नेपाल हातेमालो गर्न तत्पर रहेको उल्लेख गरे ।
एनिमल नेपालले काठमाण्डौ, चितवन र बारामा स्थानीय पालिकाहरुको सहयोग र समन्वयमा पशु चौपायाको हकहितका सवालमा काम गर्दै आइरहेको छ । भरतपुर महानगरपालिकामा हाल ५ वटा पशु बधशालाहरु रहेका छन् ।


