चितवन । भरतपुर महानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत ७ वटा समूहलाई प्रविधिहरु हस्तान्तरण गरिएको छ । उद्यमीहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
महानगरबाट सञ्चालित मागका आधारमा तालिमबाट तालिम लिएका वडा नम्बर १३, २३, २४ र २५ नम्बरका उद्यमीलाई सोमबार एक कार्यक्रमका बीच प्रविधिका सामानहरु हस्तान्तरण गरिएको हो ।हस्तान्तरण पछि मन्तव्य दिनु हुँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरबासीलाई दक्ष जनशक्ति बनाउन यस्तो कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो ।
महानगरले मागको आधारमा तालिम दिई आवश्यक यन्त्र उपकरण उपलब्ध गराउदै आएको जानकारी पनि दिनुभयो ।यस्ता कार्यक्रमले उद्यमीहरुलाई स्वालम्बी, आत्मर्निभर बनाउन सहयोग पुराएको उहाँको भनाई थियो ।प्रमुख दाहालले आगमी दिनमा महिलासँग मेयर कार्यक्रम, मेयरसँग युवा कृषक कार्यक्रममार्फत उद्यमीलाई थप प्रविधिहरु हस्तान्तरण गरिने पनि बताउनुभयो ।
उद्यमीहरुलाई केराको सुत्लाबाट रेसा निकाल्ने मेशिन १ थान, कुखुरालाई दाना दिने भाँडो २५० थान, मिक्चर २ थान, भट्टी चुलो २ थान , पानी ट्याङ्की ९ थान, लुगा सिलाउने मेशिन २ थान र ईन्टरलक मेशिन ४ थान दिइएको हो । प्रविधिलाई रु ३ लाख ९६ हजार १ सय ८० रुपैयाँमा खरिद गरिएको महानगरको सामाजिक शाखाले जनाएको छ ।

