चितवन । चितवनको मनकामना अस्पतालमा गएराती तीन महिने गर्भवतीको मृत्यु भएको विषयमा अस्पताल र मृतकका आफन्तबीच सहमति भएको छ । सामान्य रक्तस्राव भएर अस्पताल आएकी भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराती करिब १२ बजेतिर मृत्यु भएको थियो ।
अस्पतालले उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेज गरी मृतकको परिवारलाई साढे २७ लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमति भएको मृतकका देवर सन्तोष चौधरीले जानकारी दिए । उनका अनुसार नविनाको उपचारमा डा मोना श्रेष्ठ संलग्न थिइन् । क्षतिपूर्ती रकमले रविनाको पाँच वर्षीय छोरीलाई पनि पढाउने सहमति भएको उनले बताए ।
चिकित्सकको लापरबाहीका कारण अपरेशनपछि झनै रक्तस्राव हुन गई नविनाको मृत्यु भएको सन्तोष चौधरीले बताए । मृतकको लास अस्पतालबाट निकाल्न जबरजस्ती पिडितको हस्ताक्षर गराउन खोजिएपछि अस्पतालमा तनाव सिर्जना भएको थियो ।

