चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको मिलेमतोबिना अवैध सुन भित्रिने कल्पनासमेत गर्न नसकिने बताएका छन् । मंगलबार चितवन आएका सभापति लामिछानेले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सरकारी संयन्त्रको मिलेमतोबिना त्यति ठूलो परिमाणको सुन नेपाल भित्रिन नसक्ने बताएका हुन् ।
सत्यतथ्य के हो भन्ने कुरा अनुसन्धानले बताउने भए पनि सरकारी संयन्त्रको मिलेमतोबिना त्यति ठूलो मात्रामा सुन भित्रिने कुरा कल्पनाभन्दा बाहिरको विषय भएको उनले बताए । ‘विदेशबाट फर्किँदा हाम्रै दाजुभाइको घाँटीमा एक त्यान्द्रो सिक्री देख्यो भने त्यसमा सोधीखोजी हुन्छ,’ उनले भने, ‘त्यति कडाइ हुने ठाउँबाट एक सय किलो सुन कसैको मिलेमतोबिना छ छिर्दैन नि ।’
उक्त घटनामा पूर्वसभामुख कृष्णबहादुर महराको बाउ छोराको नामसमेत मुछिएका छन् । यस्तो अवस्थामा सरकारले आफ्नो र अर्काको भनेर हेर्न नहुने उनले बताए । ‘त्यसैले पछिल्लो सुन काण्डमा सरकार र गृहमन्त्रालयको हन्ड्रेड पर्सेन्ट मिलेमतो छ । कसैको मिलिभगतबिना त्यत्रो सुन भित्रिन सक्ने सम्भावनै छैन,’ उनले भने, ‘होइन भने यही भरतपुर विमानस्थलबाट एउटा सियो त छिराउन सक्दैन भने अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन कसरी छिर्छ ?’
पछिल्लो केही दिनयता ‘सुन काण्ड’ र ‘ललिता निवास प्रकरण’लगायतका विषयलाई लिएर नेकपा एमालेका सांसदहरूले संसद अवरूद्ध गर्दै आएका छन् । तर, रास्वपाका सभापति लामिछानेले भने संसद अवरूद्ध गर्दैमा समस्या समाधान नहुने तर्क दिए । ‘यस्तो अवस्थामा संसद चल्न दिनुपर्छ । टेबल टक गर्नुपर्छ र निचोड निकाल्नु पर्छ,’ उनले भने, ‘संसद अवरूद्ध गर्दैमा निचोड निस्किहाल्ने होइन ।’
पुराना दलहरूबाट रास्वपालाई ‘ननम्यच्योड पोलिटिक्स’ गर्छ भन्ने आरोप लागिरहेको बताउँदै उनले थपे, ‘हामीप्रति अन्य दलले बुझेको विषय र हाम्रो बुझाइ नै फरक छ ।’ तर, संसद नै अवरूद्ध गरेर काम गर्नै नदिने वातावरण सिर्जना गरिदिन नहुने उनले बताए ।

