चितवन । ४१औं विपि स्मृति दिवसको अबसरमा प्रजातान्त्रिक विचार समाज चितवनले वृक्षरोपण कार्यक्रम गरेको छ । बकुलहर रत्ननगर अस्पताल परिसरमा कपुरको बिरुवा वृक्षरोपण गरिएको विचार समाज चितवनका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए ।
नेपाली कांग्रेस चितवन सभापति राजेश्वर खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका निवर्तमान सभापति जीत नारायण श्रेष्ठ, प्रजातात्रिक विचार समाज केन्द्रीय बरिष्ठ उपाध्यक्ष डा.ईश्वरी लौडारी, जिल्लाका विभिन्न लोकतान्त्रिक संगठनका प्रमुख तथा पदाधिकारीहरु, प्राध्यापक, चिकित्सक, वकिल, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सभापति राजेश्वर खनालले विपीको आदर्श र परिकल्पनालाई आत्मसात गरी पार्टी लाई परिस्कृत ढंगबाट अगाडि बढाउन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा अध्यक्ष सुरेशचन्द्र आचार्यले प्रजातात्रिक विचार समाज नेपाली कांग्रेसको संरचनामा नरहेपनि पार्टीको लोकतात्रिक आचरणसंग निकट रहेकोले पार्टीलाई खवरदारी समेत गरिरहेको र लोकतन्त्रलाई संस्थागत गर्ने विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको बताए ।
विपी स्मृति दिवसमा एक दिन वि पीलाई सम्झने भन्दापनि उहाँको विचार र सिद्धान्तलाई ‘बीपीवाद’ कै रूपमा मानेर कांग्रेसले विधान र घोषणापत्रमा प्रजातान्त्रिक समाजवादको उल्लेख गरेबमोजिम उहाँको विचारलाई अंगीकार गर्न चुकेकोले अहिले कांग्रेसको सिद्धान्त विस्मृत हुन पुगेको उनले बताए । कार्यक्रम समाजका सचिव विकास पौडेलले सन्चालन गरेका थिए ।

