काठमाडौं । चितवनका सुरजलाल तिवारी पशुपति सेभिङ एण्ड क्रेडिट सहकारीबाट करोडौँ रुपैयाँ ठगिएका छन् । तिवारीले पशुपति सहकारीमा राखेको बचत र त्यसको ब्याज गरेर केहि समय पहिले १ करोड २६ लाख रुपैयाँ पुगेको थियो ।
सहकारी संकटमा परेको थाहा पाएपछि मुद्दती निक्षेपका रूपमा जम्मा गरेको रकम फिर्ता माग्दै तिवारी धेरैपटक सहकारी धाए, तर पैसा पाएनन् ।
सहकारीले एउटा अफर भने गर्यो, ‘सहकारीले जग्गा दिन्छ, रकम थप गर्नुहोस् ।’ सहकारीमा भएको रकम डुबाउनु भन्दा बरु जग्गा लिए केही होला भन्ने ठानेर अफरबारे थप जिज्ञासा राखे । सहकारीले चितवनको पिठुवामा रहेको ५ कट्ठा जग्गा पास गरिदिने बतायो । जग्गाको मूल्य २ करोड ६० लाख रुपैयाँ तोक्यो र, तिवारीलाई एक करोड ३४ लाख रुपैयाँ थप गर्न भन्यो ।
चितवनकै बासिन्दा उनलाई थाहा थियो, त्यो जग्गा सहकारीले मूल्य राखे जस्तो महँगो होइन । तर डुबेको पैसा उठ्ने आशमा जग्गा लिन सहमत भए । ‘१० वटा घडेरी निस्किने जग्गा लिंदा डुब्ने जोखिममा रहेको पैसा उत्रिने आशमा सहकारीको प्रस्तावमा सहमति जनाएँ’ तिवारीले भने, ‘तर जग्गा त कौडीको भाउको रहेछ । बचतको पैसा उठाउन खोज्दा खल्तीको पनि डुब्यो ।’
पशुपति सहकारीका धेरै बचतकर्ता यसरी नै ठगिएका छन् । सहकारीका अध्यक्ष सीबी (चन्द्रबहादुर) लामाले बचतकर्ताको रकम दुरुपयोग गरेर व्यक्ति र कम्पनीको नाममा जग्गा खरिद गर्ने र महँगोमा फेरि बचतकर्तालाई भिडाएको पाइएको छ ।
बचतकर्ताको रकम दुरुपयोग गरी अर्बौंको जग्गा
कुल निक्षेप करिब १ अर्ब ७२ करोड पुगेको पशुपति सहकारीलाई लामाले निजी कम्पनी जस्तो जथाभावी सञ्चालन गरे । उनले बचतकर्ताको निक्षेप रकम दुरुपयोग गरी आफू सहितका विभिन्न व्यक्ति तथा कम्पनीका नाममा जग्गा किनेको पाइएको छ । त्यति मात्रै होइन, उनले व्यक्तिगत लगानीमा विभिन्न कम्पनी खोली त्यस मार्फत पनि सहकारीको बचत रकम दुरुपयोग गरेको खुलेको छ ।
ललितपुरको भैंसेपाटी र लामाटार, काभ्रेको धुलिखेल र भकुण्डेबेंसी, चितवनको मेघौली तथा रूपन्देहीको बसौली नगरपालिकामा जग्गा रहेको पशुपति सहकारीले बताएको छ । तर यो कुनै पनि जग्गा सहकारीको नाममा छैन ।
ललितपुर र काभ्रेमा रहेको जग्गा संस्थाका अध्यक्ष सीबी लामा, बहादुर लामा तथा पुष्पराज कोइरालाको नाममा देखिन्छ । चितवनको जग्गा सफल चितवन प्रालि र बसौलीमा रहेको जग्गा डायमण्ड इँटा तथा टायल कारखानाको नाममा छ ।
यसबाहेक ललितपुरको बुङ्मती र भक्तपुरको नलिञ्चोक, बाराको निजगढ, चितवनको रत्ननगर र गौतमनगर, बुटवल लगायत स्थानमा पनि जग्गा रहेको पशुपतिका अध्यक्ष लामाले स्वीकार गरेका छन् । तर यो पनि व्यक्तिकै नाममा छ ।

