चितवन । उद्योग वाणिज्य संघ–चितवन र अधिकृत व्यवसायी संघ–चितवनको संयुक्त आयोजनामा एकदिवसीय बजारिकरण सम्बन्धी तालिम सम्पन्न भएको छ ।
अधिकृत व्यवसायीहरूका व्यवसायमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी गरिएको यस तालिमले व्यवसाय प्रवद्र्धनका साथसाथै बजारीकरणको अवस्था र वस्तु बिक्री गर्ने कला सम्बन्धी जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बिक्री बढेमा आम्दानी बढ्ने बिक्री घटेमा आम्दानी घट्ने हुनाले व्यवसायको मेरूदण्ड भनेकै बस्तु बिक्री भएको बताए । अध्यक्ष श्रेष्ठले अहिलेको बजारमा विश्वव्यापीकरणले ल्याएको परिवर्तनमा परिवर्तित हुदैँ बिक्रेताहरूलाई वस्तु बिक्री गर्ने कला सम्बन्धी जानकारी दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा नेपाल वितरक महासंघका उपाध्यक्ष दुर्गाप्रसाद गौतमले तालिमबाट सिकेको कुरालाई राम्रोसँग प्रयोगमा ल्याउन सके सेल्स मेनलाई सेल्स अफिसर बनाउन सहयोग गर्ने बताए ।
कार्यक्रमका प्रमुख मध्यस्थकर्ता बालकुमारी कलेजका उप प्राध्यापक पदमराज सापकोटाले कार्यक्रममा प्रस्तुतीकरण दिदै बजारिकरणको सिद्धान्त, सेल्समेनले जान्नुपर्ने कुराहरू, सेल्समेनका हुनुपर्ने गुण, व्यापारमा मार्केटिङको आवश्यकता, ग्राहक सन्तुष्टि किन आवश्यक छ र यो कसरी प्राप्त गर्न सकिन्छ, सफलताको रहस्य के होला, ब्राण्डीङ भनेको के हो, भन्ने कुराको साथसाथै विश्वबजारमा बजारिकरण सम्बन्धी विभिन्न उदारणहरू दिए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै अधिकृत व्यवसायी संघ–चितवनका अध्यक्ष नारायण प्रधानले तालिम सहभागी व्यवसायी एवं कर्मचारीलाई व्यवसायिक एवं कार्यकुशलता विकासको शुभकामना दिनुभएको थियो । अधिकृत व्यवसायी संघका कार्यक्रम संयोजक निर्मल ढकालको संयोजकत्वमा बजारिकरण तालिम भएको थियो । कार्यक्रममा १०० जना भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।


