चितवन । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवं आन्तरिक राजस्व कार्यालय भरतपुरको समन्वयमा आर्थिक विधेयक २०८० ले प्रदान गरेको कर छूट सहुलियत एवं विद्यमान कर व्यवस्थामा भएका परिवर्तनसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटले आलु, प्याज, गेडागुडी तथा फलफूल, तरकारीलगायतका सर्वसाधारण जनताले दैनिक उपभोग गर्ने कर छूटका वस्तुहरूलाई हाल सरकारले मूल्य अभिवृद्धि कर लगाएकोमा त्यस्तो निर्णय कार्यान्वयन नगर्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा स्रोतव्यक्ति एवं आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत विष्णु राउत र हरिराम ढकालले व्यवसायीहरूलाई आर्थिक विधेयक २०८० ले प्रदान गरेको कर छूट सहुलियत एवं विद्यमान कर व्यवस्थामा भएका परिवर्तनका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र ओली, पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराई, मुद्रण उद्योग संघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मीलगायतले मन्तव्य राखेका थिए ।
संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।


