काठमाडौं । अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा विभिन्न स्थानमा गिद्ध गणना र संरक्षण अभियानका साथ मनाइँदैछ ।नेपालसहित दक्षिण एसियामा गिद्धको सङ्ख्या तीव्र रूपमा लोपहुँदै गएपछि सन् २००९ देखि गिद्ध संरक्षणका लागि यो अभियान सुरु भएको हो ।
गिद्ध प्रकृतिलाई सफा राख्ने मानवको मित्र पक्षी हो । वातावरण र मानव स्वास्थ्यलाई हानि हुने सिनो र फोहोर खाएर प्राकृतिक वातावरण स्वच्छ राख्ने गर्छ ।
आईयूसीएन अर्थात् प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घमा सूचीकृतमध्ये नेपालमा पाइने पाँच प्रजातिका गिद्ध अति सङ्कटापन्नमा सूचीकृत छन् । जसमा डङ्गर गिद्ध, खैरो गिद्ध, लामो ठुँडे गिद्ध, सुन गिद्ध र सेतो गिद्ध रहेका छन् ।
अन्य तीनवटा गिद्ध खतराको नजिकको सूचीमा रहेका छन् । जसमा हिमाली गिद्ध, राज गिद्ध र हाडफोर गिद्ध रहेका छन् ।सन् १९९० तिरबाट नेपालमा गिद्धको सङ्ख्या तीव्र रूपमा घट्दै गएकोमा सन् २००० आसपास आइपुग्दा भएकामध्ये करिब ९५ प्रतिशत गिद्ध घटेको पाइएको पक्षीविद् डा. तुलसी सुवेदीले जानकारी दिए ।
अनुसार कुनै गिद्धको सङ्ख्या ९९ प्रतिशतसम्म घट्न पुगेको थियो । त्यसअघि नेपालमा मात्र पाँच लाखको सङ्ख्यामा गिद्ध पाइन्थ्यो ।यसरी अचानक ठूलो सङ्ख्यामा गिद्धको सङ्ख्या घट्नुमा पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधि प्रमुख कारक रहेको पाइएपछि सन् २००६ देखि त्यो औषधि नेपालमा प्रतिबन्ध लगाइएको छ तर लुकिछिपी त्यस्तै खालका औषधि पशुमा प्रयोग हुँदा गिद्ध मर्ने क्रम रोकिएको छैन ।
केही दिन अघिमात्र नवलपरासीमा ६९ वटा गिद्ध एकै ठाउँमा मरेको पाइएको थियो । ती गिद्धले औषधि प्रयोग गरेर मारिएको कुकुरको सिनो खाएकाले मरेको पाइएको उनले बताए । संरक्षणकारी उपाय अपनाउँदा अपनाउँदै पनि अहिले नेपालमा १० हजार हाराहारीमात्र गिद्ध पाइन्छ ।नौ प्रजातिका गिद्धमध्ये सानो खैरो गिद्धको सङ्ख्या त मात्र ५० वटा रहेको छ ।गिद्ध संरक्षणलाई थप प्रभावकारी बनाउनकै लागि शनिबारदेखि नवलपरासीसहित देशका विभिन्न स्थानमा यसको गणना गरिँदैछ ।
नेपालमा पहिलो पटक २०६५ सालमा गिद्ध गणना भएको थियो । यस गणनाले गिद्धको वैज्ञानिक सङ्ख्या पत्ता लगाउनेभन्दा पनि संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्य बोकेको छ । पक्षी संरक्षण सङ्घ, हिमाली प्रकृति सङ्घ, नेपाल पक्षीविद् सङ्घलगायतको सक्रियतामा गणना हुन लागेको हो ।