चितवन । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौँडाको आयोजना एवं रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिहरुका लागि पोषणसम्बद्ध कर्मचारीबीच दुईदिने पोषणसम्बन्धी पैरवी कार्यक्रम रत्ननगर नगरपालिकाको सभाहलमा सुरू भएको छ ।
रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले कुपोषणलाई शून्यमा झार्नका लागि तीनै तहका सरकारबीच क्षेत्राधिकार तोकेर सम्बन्धित बस्तीहरुका पोषण विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बालबालिका तथा सुत्केरी महिलाको शारीरिक एवं मानसिक विकासका लागि पोषण अत्यावश्यक रहेको बताउँदै जनप्रतिनिधि एवं कर्मचारीमा पोषणसम्बन्धी ज्ञान हुनसके नीति निर्माण बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले नेपालमा कुपोषित बालबालिकाको संख्या २० प्रतिशत रहेको उल्लेख गर्दै पोषणको अवस्थामा सुधार ल्याउने खालका कार्यक्रम गर्न अझै जरूरी रहेको बताए ।
रत्ननगरमा कुपोषित बालबालिका एक प्रतिशतभन्दा कम देखिए पनि बच्चा जोख्ने क्रम न्यून रहेकाले तथ्याङ्कमा फरक हुनसक्ने बताए ।
पैरवी कार्यक्रममा राष्ट्रिय नीति तथा रणनीतिबारे स्वास्थ्य निर्देशनालय हेटौँडाका वरिष्ठ जनस्वास्थ्य अधिकृत विनुकुमार झाले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी गाउँघरमै उत्पादित खानेकुरा खुवाउनुपर्ने, बच्चा जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्ने, बच्चाको वृद्धि अनुगमन गरिनुपर्ने, सुनौलो एकहजार दिनसम्म पोषणयुक्त खानेकुरा खुवाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत शिवप्रसाद बडालले सहजीकरण गरेका थिए । यस्तै, प्रदेश नीति तथा योजना आयोगका सदस्य किरणप्रसाद गजुरेल, सुकदेव सापकोटा र पुरुषोत्तम अर्यालले पोषणसम्बन्धी नीति तथा योजनासम्बन्धी आआफ्ना भनाइ राखेका थिए ।