चितवन । रत्ननगर नगरपालिकाको आयोजनामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र आधारभूत मानवीय मापदण्डसम्बन्धी तालिम शुक्रबारदेखि रत्ननगरमा सुरू भएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं–१२ का सुन्दरमणि सुवेदीको अध्यक्षतमा भएको तालिमको उद्घाटन गर्दै रत्ननगर नगरपालिका उपप्रमुख यादवप्रसाद पाठकले विपद् जोखिम न्यूनीकरण तालिमका सिकेका ज्ञान व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गरे ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सकेसम्म मानव जीवनलाई सहज बनाउन स्थानीय विपद् व्यवस्थापन ऐनअनुसार विपद्को पूर्वतयारी र नीतिगत निर्णय गरी सामग्रीको भण्डारण गरिएको जानकारी दिए ।
सहभागीहरुले तालिमपश्चात् स्थानीय विपद् प्रतिकार्य कार्ययोजनामा आधारित रहेर समुदायमा राहत प्रदान गर्नुपर्ने बताए ।
राष्ट्रिय प्रकोप जोखिम केन्द्र नेपालका प्रशिक्षक सुरेश थापा, कृष्ण घिमिरे र एस सुब्बाले तालिममा सहजीकरण गरेका छन् ।
वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका फोकल पर्सन विश्वास श्रेष्ठका अनुसार तालिममा रत्ननगरका वडा नं १ देखि ८ सम्मका वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।

