चितवन । रत्ननगर नगरपालिका कर्मचारी युनियनको नयाँवर्ष २०८० को आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिका कर्मचारी युनियनका अध्यक्ष शालिकराम पौडेलको अध्यक्षता एवं नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले कर्मचारीहरु स्थायी सरकार भएकाले आफ्नो पदीय दायित्वअनुसार अनुशासित, मर्यादित र कर्तव्यनिष्ट भएर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
प्रशासन शाखाका सूचना अधिकारी सविता अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन युनियनका सचिव केशव पौडेलले गरेका थिए । कार्यक्रममा कर्मचारीको हकहित र अधिकारका सम्बन्धमा स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले माग पत्र पेश गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस रत्ननगरका कार्यवाहक सभापति कमलनाथ अधिकारी, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, नगरशिक्षा अधिकारी बद्रिनारायण शर्मा, वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडाध्यक्षहरु र कर्मचारी युनियनमा आबद्ध कर्मचारीहरुबीच अन्तरक्रिया गरिएको थियो ।

