चितवन। प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार जीतनारायण श्रेष्ठले आफू निर्वाचित भए मतदाताको शिर झुक्ने अवस्था आउन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
गठबन्धनका साझा उम्मेदवार कांग्रेसका निवर्तमान जिल्ला सभापति श्रेष्ठले आज (शनिबार) भरतपुरका विभिन्न वडामा घरदैलोको क्रममा यस्तो प्रतिवद्धता जनाउभएको हो । उहाँले आफू निर्वाचित भए गलत मान्छेलाई भोट हालिएछ भन्ने अवस्था आउन नदिने बताउनुभयो । ‘जीतनारायण श्रेष्ठलाई तपाईहरुले मत हाल्दै गर्दा भोलिका दिनमा कहि कतै गलत मान्छेलाई भोट हालिएछ भनेर शिर झुक्न दिने छैन’, उहाँले भन्नुभयो ।
हिजोका दिनमा सडकमा नारा लगाएको स्मरण गर्दै श्रेष्ठले अब सदनमा बेतिथिविरुद्ध आवाज उठाउने प्रतिवद्धता जनाउनुभयो । ‘हिजो सडकमा नारा लगाउने केटो भोलि संसदमा हुने बेतिथिको विरुद्धमा बोल्न सक्ने हिम्मत राखेर आएको छुु’, उहाँले भन्नुभयो ।
आफू सधैं जनताको साथमा रहेर अघि बढेको बताउँदै उहाँले आगामी दिनमा पनि जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । २०७२ सालमा चेपाङ गाउँमा भुकम्पले भत्किएका घर बनाउन गरेको काम र शक्तिखोरमा अस्पताल बनाउन परिवारबाट गरिएको १० कट्ठा जग्गा दान स्मरण गर्दै आफूले प्रचारबाजी भन्दा काममा सधैं जोड दिएको उहाँको भनाइ थियो ।
जनताले मत दिएर विजयी एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने उहाँको प्रतिवद्धता छ । ‘मलाई मत दिनुहोस् । मेरो पनि ७२ वर्षको आमा हुनुहुन्छ । मैले एक रुपैयाँ पैसा खाएछु भने आमाको रगत खानु सरह हुनेछु’, उहाँले भन्नुभयो । सांसद भनेको जीतनारायण श्रेष्ठ जस्तो हुनुपर्छ भन्ने गर्व गर्न लायक काम गरेर देखाउने उहाँको भनाइ थियो ।

