चितवन। प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रामकृष्ण ओझाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
माछा चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहनुभएका ओझाले आज (शुक्रबार) आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई समर्थन गर्नुभएको हो । ओझा माओवादी केन्द्र चितवनका सदस्य हुनुहुन्छ ।
उहांँले पार्टीसँग छलफल नै नगरी आफूले दिएको उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । पार्टीको केन्द्रीय गठबन्धनको कार्ययोजनालाई आत्मसाथ गर्दै उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवार कांग्रेसलाई श्रेष्ठलाई समर्थन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
‘पार्टी केन्द्रको गठबन्धनको कार्ययोजनालाई आत्मसाथ गरी मैले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिई बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार युवा व्यक्तित्व जीतनारायण श्रेष्ठलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छुु, उहाँले भन्नुभयो ।
उहाँले आफूलाई मतदान गर्न इच्छुक मतदाताहरुलाई रुख चिन्हमा मतदान गरी श्रेष्ठलाई विजयी गराउन आह्वान पनि गर्नुभयो । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो । तर नागरिकतासम्बन्धी मुद्दामा लामिछानेको पद सर्वोच्च अदालतले बदर गरेपछि यो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

