काभ्रे । जिल्लामा खानेपानीका चार बृहत् आयोजना सञ्चालनमा आएका छन् । नमोबुद्ध नगरपालिकामा रु ३० करोड लागतमा बृहत् खानेपानी आयोजना कार्यान्वयको चरणमा छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत नगरपालिकाका वडा नं ६, ७ र ८ सहित भकुण्डे उपत्यकामा सहजरूपमा खानेपानीको सुविधा पु¥याउन उक्त बृहत् खानेपानी आयोजना सञ्चालनको प्रक्रिया अघि बढेको हो । वडा नं ६ स्थित रोशीखोलाबाट लिफ्ट गरी एक हजार ६०० भन्दा बढी परिवारका लागि खानेपानीको व्यवस्थापन गर्न आयोजनाले रु २९ करोड ७८ लाख २० हजार ३६८ बराबरको लागत अनुमान गरेको छ ।
नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नगरको गौरवको आयोजना भएको र यसले ‘एक घर, एक धारा’को अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार आयोजना सञ्चालनार्थ मूलको व्यवस्थापन र उपभोक्ता समिति पनि गठन भइसकेकाले आयोजनाको काम तीव्ररूपमा अघि बढ्नेछ । आयोजना निर्माण सुरु भएको तीन वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।
यस्तै मण्डनदेउपुर नगरपालिकामा बृहत् खानेपानी आयोजनाको प्रक्रिया थालिएको छ । यसका लागि पहिलो चरणमा रु ५४ करोडको ठेक्का आह्वान गरिएको हो । गतसालको चैतमा उक्त खानेपानी आयोजनालाई रु एक अर्ब स्वीकृत भएको थियो । मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरिकको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरका १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो ।
उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयसँग प्रतिउपभोक्ता रु एक हजार लिएको छ । नगरसँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समिति अध्यक्ष रामबहादुर तामाङले बताए । उनका अनुसार खानेपानी आयोजना सम्पन्न गर्न हाल बोलपत्र आह्वान गरिएको छ । आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रियाका लागि हाल नगरपालिकाले रु ५१ लाख ६६ हजार उपलब्ध गराएको छ ।
तामाङका अनुसार ठकेदार कम्पनीको छनोट गरी सम्झौतापछि खानेपानी आयोजना तीन वर्षभित्र सक्नुपर्ने योजना बनाइएको छ । खानेपानी आयोजनाबाट नौ वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् । नगरस्थित ७ नं वडाको सोते र १० नंको नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको विभागका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताए । उनले भने, “लिफ्टिङ प्रविधिको यस आयोजनाले पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराइनेछ ।

