चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० वैशाख गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ।
चितवन–२बाट सभापति रवि लामिछाने, तनहुँ–१ बाट अर्थविद् समेत रहेका डा. स्वर्णिम वाग्ले र बारा–२ बाट रमेश खरेललाई पार्टीको उम्मेदवार बनाइएको शनिबार पत्रकार सम्मेलनमार्फत औपचारिक जानकरी गराइएको छ।
तनहुँ–१ मा सत्ता गठबन्धनको तर्फबाट गोविन्द भट्टराई उम्मेदवार छन् भने एमालेले सवेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
चितवन–२ मा नेपाली कांग्रेसका जित नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बारा–२ मा सत्ता गठबन्धन र एमालेले उम्मेदवार तय गरेको छैन। रास्वपाले भने खरेललाई बारा–२ मा उम्मेदवार बनाउन लागेको हो।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सभापति लामिछानेको सांसद पद नागरिकता प्रकरणका कारण गुमेपछि चितवन– २ मा उपनिर्वाचन हुन लागेको हो।
तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट सांसद निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती क्षेत्र उपनिर्वाचन हुन लागेको हो।

