काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले उपचुनाव हुने तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । चितवन २, तनहुँ १ र बारा २ मा हुने उपचुनावका लागि बिहीबार राति उम्मेदवार टुंगो लगाएको हो ।
चितवन २ मा पार्टी सभापति चुनाव लड्ने भएका छन् । यसअघि ४ मंसिरको चुनावमा पनि उनी त्यहाँबाट निर्वाचित भएका थिए । तर, नागरिकता प्रकरणमा उनको पद गएपछि त्यहाँ उपचुनाव हुन लागेको हो । यस्तै बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।
४ मंसिरमा भएको चुनावमा खरेल आफ्नो पार्टी बनाएर काठमाडौं १ बाट चुनाव लडी पराजित भएका थिए । बारा २ बाट निर्वाचित जसपाका रामसहाय यादब उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त भएको सो क्षेत्रमा चुनाव हुने भएको हो ।
यस्तै रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त भएको तनहुँ १ मा स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन् । वाग्ले आजै कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका थिए । उपचुनाव १० वैशाखमा हुँदैछ । उम्मेदवार टुंगो लगाएपछि लामिछानेले भनेका छन्, ‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन ।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तीन लिएर संसद छिर्ने सपना छ ।’

