चितवन। नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले भरतपुर आँखा अस्पतालाई विश्वस्तरको आँखा अस्पताल बनाउने योजना रहेको बताउनु भएको छ । नेपाल नेत्रज्योति संघ चितवनको २३ औं साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्यसका लागि विभिन्न देशहरुसँग कुराकानी भईरहेको बताउनु भएको हो ।
नेपालको आँखा उपचार सेवा गुणस्तरीय र विश्वसनीय भएको चर्चा गर्दै चन्दले भन्नुभयो “आँखा उपचारका लागि नेपाली विदेश जाँदैनन्, विदेशी आँखा उपचार गर्न नेपाल आउँछन् ।” नेपालमा गरिबहरुले पैसा नभएर आँखाको उपचारबाट बञ्चित हुन नपर्ने भन्दै उहाँले जनसहभागितामा अस्पताल सञ्चालन गरेकै कारण सफलता मिलेको बताउनुभयो । नेपाल सरकारले अभिभावकत्व दिएकै कारण नेत्रज्योति संघले देशका विभिन्न ठाउँमा आँखा अस्पताल र उपचार केन्द्रहरु सञ्चालन गर्न सकेको उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले आँखा उपचार जस्तो संवेदनशील क्षेत्रमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले भरतपुर आँखा अस्पतालले ग्रामीण क्षेत्रसम्म पुगेर उपचार सेवा दिएकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, संघका पूर्व सभापति वामदेव खनाल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, लायन्स इन्टरनेशनल ३२५ आरका गभर्नर सिद्धार्थलाल चुके, भरतपुर १० का वडा अध्यक्ष पर्मेश्वर खनाल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले शुभकामना दिनु भएको थियो ।
यस्तै माडी आँखा उपचार केन्द्रका संयोजक श्रीप्रसाद दवाडी, केशवकुमार श्रेष्ठ, संघका निवर्तमान सभापति चिजकुमार मास्के लगायतले बोल्नु भएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष तेजेन्द्र खड्काले आर्थिक प्रतिवेदन र सहसचिव केशव अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा विभिन्न महानुभावहरुलाई सम्मान गरिएको छ । आँखा अस्पतालको भवन निर्माण सहयोग गर्ने, प्रेमकुमार श्रेष्ठ, सरस्वती श्रेष्ठ, निर्मला श्रेष्ठ, ध्रुवलाल प्रधान, दिनुप बराललाई सम्मान गरिएको थियो । यसैगरी अशोक अधिकारीले समेत भवन निर्माणका लागि सहयोगको बचनबद्धता व्यक्त गर्नुभएको सो अवसरमा जानकारी दिईयो ।
पूर्व सभापतिहरु प्रेमकुमार श्रेष्ठ, प्रभातकुमार जोशी, वामदेव खनाल, चिजकुमार मास्केलाई कार्यक्रममा सम्मान गरिएको छ । अस्पतालमा अध्ययन संस्थान खोल्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रा.डा.रघुनन्दन बेञ्जु, शैक्षिक विभाग प्रमुख प्रा.डा.सोनु दुलाल, १८ वर्षदेखि सेवारत डा.मारिया गौतम, २५ वर्षदेखि अस्पतालमा सेवारत रमेश घिमिरे, सपना प्रधान र छाया श्रेष्ठलाई पनि सो अवसरमा सम्मान गरियो ।
संघका अध्यक्ष कृष्णराज धरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सहसचिव केशव अधिकारीले र स्वागत उपाध्यक्ष जयराम श्रेष्ठले गर्नुभएको थियो ।


