चितवन । उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख र सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर चितवन नं. १७ गणका प्रमुखलाई संयुक्त रूपमा स्वागत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्की, र सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर चितवन नं. १७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शशि पाण्डेलाई संघमा स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर चितवन नं. १७ गण लगायत सम्पुर्ण कार्यालयहरुसँग सुमधुर रहँदै आएको बताउँदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा स्वागत गर्दै अध्यक्ष श्रेष्ठले संघको संक्षित जानकारी दिदै चितवन जिल्लाको आर्थिक समाजिक एवं समग्र विकासका लागि सबै निकायहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सहनलाल प्रधानले नवआगन्तुक जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख र सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर चितवन नं. १७ गणका प्रमुखलाई कार्यकाल सफलताको शुभकामना दिदै उद्योग वाणिज्य संघ–चितवन व्यवसायीहरुको संस्था भएतापनि सामाजिक उत्तरदायीत्वको कार्यमा पनि निरन्तर लागिरहने बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चितवन आर्थिक सामाजिक एवम् रणनैतीक हिसावले महोत्वपुर्ण जिल्ला भएको बताउदै अवको देश विकास सार्वजनिक निजी साझेदारीको माध्यमबाट गर्ने रणनीति भएकोले निजी क्षेत्रको उत्थानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले चितवनमा रात्रीकालीन बजार सञ्चालनको लागि व्यवसायिक संघ संस्थाहरूको समन्वयमा निश्चित क्षेत्र पहिचान गरी सञ्चालन गर्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले व्यावसायीहरूका गुनासाहरु सम्बोधन गर्दै व्यवसायीहरूको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरुसँग छलफल कार्यक्रम आयोजना गर्न लागेको बताए । सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर चितवन नं. १७ गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक शशि पाण्डेले सुरक्षा देख्ने भन्दा पनि महशुस गर्ने कुरा भएकोले व्यवसायीहरूको लागि सुरक्षीत वातावरण सृजना गर्नको लागि प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठ, संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत ५० जनाको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

