चितवन । जंगली हात्तीको आक्रमणबाट घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । हात्तीको आक्रमणबाट घाइते भएकी मकवानपुरको मनहरि गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोमबार बिहान करेसाबारीमा काम गरिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते भएकी अधिकारीलाई उपचारको लागि सबैभन्दा पहिले हेटौँडास्थित चुरेहिल अस्पताल ल्याइएको थियो । उक्त अस्पतालमा उपचार हुन नसकेपछि थप समस्या भएपछि उनलाई चितवन रिफर गरिएको थियो ।
हात्तीको आक्रमणबाट अधिकारीको मेरुदण्ड भाँचिएको थियो भने शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । जंगली हात्तीको आक्रमणबाट वृद्धा घाइते भएसँगै आक्रोशित स्थानीयले पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत मनहरि गाउँपालिका–३ लामिटारमा रहेको लामिटार चेकपोष्ट कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए ।

