चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रमा भरतपुरले राम्रो फड्को मारेको दाबी गरेकी छन् । नेपाल प्रहरी स्कुल भरतपुर–१४, शान्तिपुरको चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अध्ययनकै लागि काठमाडौँ जाने परिपाटी लगभग अन्त्य हुन लागेको उल्लेख गरिन् ।
भरतपुर महानगरपालिका विगत पाँच वर्षमा सामुदायिक विद्यालयमा आठ हजार विद्यार्थी थप गर्न सफल भएको भन्दै प्रमुख दाहालले यो क्रम बढ्दै जाने पनि प्रष्ट पारिन् ।
पाँच वर्षअघि भरतपुरको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा रहेकोमा अहिले वृद्धि हुँदै जानु भरतपुरका लागि सुखद् विषय भएको उनले बताइन् । भरतपुरले सन्तुलित विकासको मोडलअनुसार शिक्षा क्षेत्रको विकासका लागि विभिन्न शैक्षिक सुधारको कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको उनको भनाइ थियो ।
‘प्रहरी स्कुलमा आर्कषण बढ्दो छ’, उनले भनिन्, ‘सुरूवातमा भरतपुरका मात्र पढ्नु हुन्थ्यो । अहिले जिल्लाभरकै पढ्नु हुन्छ । अब छिमेकी जिल्लाबाट पनि आउनेक्रम सुरू हुन्छ । यो भरतपुर शिक्षाको हब हो भन्ने प्रमाण हो ।’
भरतपुरमा दुई ठूला मेडिकल कलेज, रामपुर कृषि क्याम्पस, त्रिभुवन विश्वविद्यालयको आंगिक इन्जिनियरिङ क्याम्पसलगायतका शैक्षिक संस्थाले भरतपुर थप गरिमा बढाएको प्रमुख दाहालको भनाइ थियो । प्रहरी विद्यालयको विकासमा महानगरपालिका सधैँ सकारात्मक रहेको उनले बताइन् ।
वागमती प्रदेशका प्रहरी प्रमुख एवम् विद्यालयका संरक्षक दीपक थापाले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि तीनै तहको सरकार र प्रहरी प्रधान कार्यालयसँग समवन्य अगाडि बढाउने बताए ।
विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले विद्यालयले विद्यार्थीको उच्च आत्मबल, सिर्जनशील र प्रायोगात्मक शिक्षालाई जोड दिने गरेको उल्लेख गरे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षतामा भएको थियो ।
यसैबीच, भरतपुर महानगरपालिकाका प्रमुख दाहालले विद्यालय परिसरभित्र निर्माण हुन लागेको दुईवटा छात्राबास भवनको शिलान्यास गरेकी छन् । करिब दुई विगाहा क्षेत्रफलमा फैलिएको विद्यालयले कक्षा आठसम्म अध्यापन गराइरहेको छ । विद्यालयमा ४४२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । भतपुरको प्रहरी स्कुलसहित देशभर ९ वटा प्रहरी विद्यालय रहेका छन् ।