चितवन । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा आज सोमबार चितवनका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।
नारायणगढस्थित लायन्सचोकमा प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका उद्योगी व्यवसायीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ एकल अंकको व्याजदर कायम गर, भन्दै नाराबाजी विरोध कार्यक्रम गरेका हुन् ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारले उद्योगी–व्यवसायीका मागहरु सुनवाई गर्न आलटाल गरेको आरोप लगाउँदै “अर्थतन्त्रमा देखिएका समस्या, निजि क्षेत्रले भोगेका समस्या समाधानका उपायसहित सरकारको ध्यानाकर्षण महासंघस्तरबाटै भएकै थियो”, उनले भने समस्या समाधान हुने आशमा थियौँ, तर सुनवाइ भएन, अब निरन्तर आन्दोलनमा उत्रिने उनले बताए ।
अध्यक्ष श्रेष्ठले व्यवसायी चर्को व्यादरको मारमा परेको बताए । ७–८ प्रतिशतको व्याजदर अहिले १६–१७ प्रतिशतसम्म पुगिसक्यो, उनले भने, व्याजदर एकल अंकमा हुनुपर्छ, मानसिक तनाव दिने काम रोकिनुपर्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले व्यवसायीमैत्री नीति ल्याउन सरकारलाई दबाब दिने बताए । “पटक–पटक वार्ता भए, छलफल भए, आश्वासन पनि पायौँ”, उनले भने “तर, समस्या जस्ताको त्यस्तै छ, भोलिको कर्जा कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।” कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले व्यवसायी आत्मदाह गर्ने अवस्थासम्म पुग्दा सम्म पनि सम्बन्धीत निकायको ध्यानाकार्षण नभएकोले विरोधका कार्यक्रमको आयोजना गरिएको बताए ।
उद्योग वाणिज्य सं–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले माग पुरा नभए तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिए । “उद्योग–व्यवसायनै धरासायी हुन थाल्यो, कोरोनापछि विस्तारै तंग्रिदै गएको अर्थतन्त्र फेरी बिग्रिन थाल्या”, उनले, “देशमा सरकार छ भन्ने अनुभूति व्यवसायीलाई पनि हुनुपर्छ ।”
संघका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदीले उद्योगी–व्यवसायीलाई निराश पारेर देशको अर्थतन्त्र मजबुत बन्न नसक्ने टिप्पणी गरे । संघका उपाध्यक्ष राजेन्द्र ओलीले राज्यलाई कर तिरी राज्य सञ्चालनमा योगदान दिने तर राज्यको तर्फबाट दायित्व पुरा नगर्दा व्यवसायी सडकमा ओर्लनु परेको बताए ।
उद्योग वाणिज्य संघले यस पूर्वनै सम्बन्धीत निकायको ध्यानार्कषण गराउने, विज्ञप्ती प्रकाशन गर्ने, डेलीगेशन जाने, अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, पत्रकार सम्मेलन गर्ने लगाएतका कार्य गर्दा पनि हाल सम्म कुनै सुनवाई नभएकोले आन्दोलनको कार्यक्रम आयोजना गरिएको कार्यकारी निर्देशक निलबहादुर केसी बताए ।
उद्योग वाणिज्य संघ–चितवनको नेतृत्व र पहलमा चितवनका रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, कालिका उद्योग वाणिज्य संघ, माडी उद्योग वाणिज्य संघ, इच्छाकामना उद्योग वाणिज्य संघ, नवलपुरको गैंडाकोट उद्योग वाणिज्य संघहरुले एकै समयमा आन्दोलन गरेका छन् ।