चितवन। आफ्नो बारीमा उत्पादन भएको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा तरकारी पोखेका छन्। उनीहरुले आज नारायणगढको पुल्चोकमा टमाटर, फर्सी, बन्दा, काउली, घिउसीमी लगायतका तरकारी बिक्रि नभएपछि विरोध स्वरुप पोखेका हुन्।
चितवन सहित देशै भरी नेपाली तरकारी नविक्दा भारत बाट भने सहज रुपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बताए।
समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरुले लगाएका छन् । पश्चिम चितवनका किसान कृष्णराज पराजुलीले उत्पादित तरकारी बिक्री गर्न नसकेपछि बाध्य भएर सडकमा फाल्नुपरेको गुनासो गरे ।
“अहिले बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती छ । नेपाली तरकारीले बजार पाएको छैन ।,” उनले गुनासो गरे , “खेतमा तरकारी कुहिएर जान्छ तर सडकमा आएपछि त सबैको आँखा पर्छ नि ।”
पूर्वी चितवन खैरहनीका किसान पूर्ण महत्तोले उत्पादित तरकारीको लागत मूल्यसमेत नउठेको गुनासो गरे । “खाडीमा जाउँ भने उमेर छैन बारीमा जाउँ भने लागत उठ्दैन ।,” उनले भने , “बिचौलियाका कारण तरकारी बिक्री गर्न गाह्रो भयो । सरकारले हाम्रो कुरा सुनोस् भन्ने माग छ ।”










