महेन्द्रनगर। दुई वर्षमा सक्नुपर्ने कञ्चनपुरको दैजी–जोगबुढा सडक खण्डको निर्माण तोकिएको भन्दा तेब्बर समय बितिसक्दा पनि अधुरै छ । यहाँको बेदकोट नगरपालिकाको छेलादेखि उत्तर लिप्ना (डडेल्धुराको सीमा) सम्मको १६ किलोमिटर सडकखण्ड कालोपत्र गर्न २०७४ वैशाखका ठेक्का सम्झौता भएको थियो ।
निर्माणको जिम्मेवारी पाएको नार्गाजुन कन्ट्रक्सन प्रालीले हालसम्म करिब नौ किलोमिटर सडक कालोपत्र गरे पनि अहिले एक वर्षयता निर्माण रोकिएको छ । महेन्द्रनगरस्थित पूर्वाधार विकास कार्यालयका सूचना अधिकृत हेमराज भट्टले गत वर्ष वर्षात्पछि उक्त सडकखण्डको करिब एक किलोमिटर कालोपत्र सडक र अन्य संरचना भत्किएको बताउनुभयो ।
रु १६ करोड ३६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकखण्ड अहिले पनि ठाउँठाउँमा पहिराले भत्किएको भए पनि बनाउने सुरसार निर्माण कम्पनीले गरेको छैन । “बीचमा मुख्य निर्माण व्यवसायीको निधनलगायतका कारणले निर्माण ढिलो भएको हो”, उहाँले भन्नुभयो, “भत्किएको संरचनाको ‘भिओ’ हुनसमेत समय लागेकाले काम अघि बढ्न नसकेको हो ।”
ठेक्का हुँदा १६ किलोमिटर निर्माणका लागि भए पनि अहिले तीन किलोमिटर कम गर्नुपर्ने भएको सूचना अधिकृत भट्टको भनाइ छ । “भेरिएसनपछि बाँकी रहेको तीन किलोमिटर सडक निर्माणका लागि प्रदेश सरकारले छुट्टै ठेक्का गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “विसं २०७६ साउनमा सक्नुपर्ने काम अझै बाँकी छ ।”
उक्त खण्डको निर्माणका लागि आगामी असारसम्म तेस्रो पटक म्याद थप भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला आवागमनका लागि दैजी जोगबुढा सडक अत्तरिया–डडेल्धुरा खण्डभन्दा कम पर्छ । पहाडी जिल्लाको छोटो दूरीका हिसाबले दशकौँअघि निर्माणको सुरसार गरिएको उक्त खण्डको गति अझै बढ्न सकेको छैन ।
“सडक निर्माण कम्पनीले रु १२ करोड लगिसकेको छ”, उहाँले भन्नुभयो, “अब आगामी आइतबारदेखि काम अगाडि बढाउँछु भनेको छ ।” महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुराको दूरी एक सय ६५ किलोमिटर पर्छ भने महेन्द्रनगरदेखि दैजी–जोगबुढा हुँदै डडेल्धुरा जान ६५ किलोमिटर दूरी कम हुन्छ ।रासस

