बारा। २०२५ सालबाट बसोबास गर्दै आएका १७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद बढेको छ । जितपुरसिमरा उपमहानगरपालिका– १८माथ्लो बडहर्वाका १७ परिवार विवादमा परेका हुन् । माथ्लो बडहर्वाका रामबहादुर कार्कीसहित का १७ परिवार २०२५ सालबाटै ऐलानी जमिन खनजोत गर्दै घरबास गर्दैआएका थिए । हाल आएर सोही पालिका वडा नं. १६ का स्वर्गीय सीताराम बराल र डम्बरकुमारी बरालका छोरा राजकुमार बरालले आफ्नो दाबबी गर्दै आएका हुन् ।
उनले गाविस भोडहाकाे कित्ता नं. १८७, ८०, ७९ र १३५ को क्षेत्रफल क्रमश ०–१–१०, ०–९–०–५, ०–६–० र ०–१–१५ जमिन मेरो भन्दै दाबी गरेका हुन् । जबकी यी जमिनमा रामबहादुर कार्कीसहित पूर्णबहादुर खड्का, गीता भण्डारी, चेतकुमारी राना, विनीता गौतम, अमृता जर्गा लगायत १७ परिवार बसोबास गर्दै आएका छन् ।
बरालले आफ्नो बाबु सीताराम बरालको नामबाट आमा डम्बरकुमारीका नाममा लगिएको दाबी गरे पनि उक्त जमिन नेपाल सरकारको ऐलानी भएको स्थानीयले बताए । ‘आफुहरू बस्दै आएको जमिनको कीर्ते कागजात बनाएर हामीलाई दुःख दिने काम भएको छ । तत्काल बदर हुनुपर्छ । भूमिसुधार तथा मालपोत कार्यालयमा निवेदन दिएका स्थानीय राम बहादुर कार्कीले भने, ‘मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा कीर्ते मोठ खडा भएको देखियो ।’
पीडित पक्षबाट मालपोतमा जमिनको कीर्ते श्रेस्ता बदरका लागि निवेदन दिएकोमा माघ ४ गतेका लागि दुईपक्षलाई बोलाईएको थियो । उक्त दिन दुबै पक्ष सहभागी भए पनि मालपोतले पुन: १३ माघका लागि तारिख दिएको कार्कीले बताए ।

