चितवन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको आयोजनामा तथा उपशाखा बछौली को आतिथ्यतामा रेडक्रस सम्बन्धी अभिमुखीकरण कार्यक्रम चितवनको सौराहामा सम्पन्न भएको छ । जिल्ला सभापति ज्ञानशाली न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले गरेका हुन ।
कार्यक्रमको उद्घाटनगर्दै प्रमुख सापकोटाले चितवनका सात स्थानियपालिकामा एक / एक ओटा ‘ब्लड बैंक’ स्थापना गर्नु पर्ने वताउनु भएको छ । उहाँले रत्ननगरमा ‘ब्लड बैंक’ स्थापनाको लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । रेडक्रसले स्वास्थ्य सँगै शिक्षा क्षेत्रमा पनि ध्यान दिनु पर्नेमा उनले जोड दिएका थिए ।
सो अवसरमा जिल्ला सभापति न्यौपानेले यस संस्थाले मानवीय सेवाको भावना राखेर काम गर्ने बताउँदै संस्थाले गरेका कार्यक्रमबारे जानकारी गराए । रत्ननगर नगरपालिका वडा नं. ५का वडाध्यक्ष बालकृष्ण चापागाईले यो संस्था अन्य संस्थाभन्दा फरक रहेको बताउँदै सामाजिक क्षेत्रमा सबैको सहकार्य र सहयोगमा संस्था अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।
त्यस्तै वडा नं ६ का अध्यक्ष किरण महतोले रेडक्रस मार्फत सञ्चालित एम्वुलेन्स सञ्चालन गर्न कठिन भएको भन्दै शुल्क समायोजन गर्न सुझाब दिनु भएको छ । साथै उप शाखा बछौली शाखालाई वडा बाट थप ५० हजार आर्थिक सहयोग गर्ने वताउनु भएको छ ।
कार्यक्रममा रेडक्रस सोसाइटीका पुर्व केन्द्रिय उप–महामन्त्री हरि प्रसाद न्यौपाने , रत्ननगर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सजना महतो, उप शाखा बछौलीका सभापति सुवास विडारी लगायतले आफ्ना भनाइ राखेका थिए । अभिमुखीकरण कार्यक्रममा जिल्लाका ४१ उपशाखाका सभापतिहरुको सहभागिता रहेको थियो ।


