चितवन । चितवनमा यस आर्थिक वर्ष २०७९/८० को ६ महिनामा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार छ महिनामा १९३ वटा सवारी दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ३६ पुरुष, ६ महिला, दुई बालक र एक बालिका रहेको चितवन ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । दुर्घटनाबाट १०७ गम्भीर घाइते र २४० सामान्य घाइते भएको उनले बताए । दुर्घटनामा २७७ सवारीसाधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ ।
ती दुर्घटनामा पर्नेमा सबैभन्दा बढी १५२ तीव्र गतिमा सवारी चलाउने रहेका छन् । यस्तै ट्रक र ट्याङ्कर ३५, जिप र कार ४२, माइक्रो ७, टेम्पो अटो रिक्सा ९, बस १५ , ट्याक्टर ४, साइकल ५३, ट्रिपर ४ र अन्य ८ दुर्घटना भएको कार्यालयले जनाएको छ । यस्तै यात्रुको गल्तीबाट ५, ओभरटेकबाट तीन वटा, सडकको अवस्थाका कारण ७, मापसेबाट ६ वटा दुर्घटना भए भने चालकको लापरवाहीको कारण तीन दुर्घटना भएका छन् ।

