काठमाण्डौ । आँखासम्बन्धी वरिष्ठ डाक्टर सन्दुक रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि डाक्टर रुइत यस पटक विजेता बनेको गल्फ न्युजले जनाएको छ । बहराइनका राजाका विशेष प्रतिनिधिले आज अवार्ड विजेताको घोषणा गरेका खबरमा उल्लेख छ ।
बहराइन सरकारले हरेक दुई वर्षमा प्रदान गर्ने यो अवार्ड विपद् रोकथाम, राहत, शिक्षा, मानव सेवालगायतका ११ वटा विधामा प्रदान गरिन्छ । यो अवार्डको स्वर्ण विजेताले १० लाख अमेरिकी डलर अर्थात् १३ करोड रुपैयाँ प्राप्त गर्दछन् । अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गरेका छन् ।
डाक्टर रुइतले नेपालसहित विश्वका विभिन्न देशका एक लाख ८० हजार जनाभन्दा धेरेको शल्यक्रिया गरेर आँखाको ज्योति दिन सफल भएका छन् । बोर्ड अफ ट्रस्टिजका अध्यक्ष मोहम्मद बिन मुबारक अल खालिफाले यस पटक अवार्डका लागि एक सय ३९ वटा मनोनयन परेको जानकारी दिए ।
यस्तै मानवताका लागि इसा अवार्डका महासचिव अलि अब्दुल्लाह खालिफाले डाक्टर रुइतले मोतियाविन्दुको उपचारमा अकल्पनीय योगदान दिएको उल्लेख गर्दै उनको सक्रियता नभएको भए हजारौँले दृष्टि नपाउने बताए ।

