चितवन । पश्चिम नवलपरासीमा डुबानमा परेका एक दर्जन बढी सरकारी कार्यालयहरूको सेवा बन्द भएको छ ।
शुक्रबार राती २ बजे झरही नदी र रावणखण्डा खोला ओभर फ्लो भई सदरमुकाम परासी बजारमा एक्कासि पसेको बाढीले सरकारी कार्यालयहरूको महत्वपूर्ण कागजात तथा कम्प्युटर लगायतका मेसिनरीहरु भिजेर बिग्रेपछि ती कार्यालयहरूबाट तत्कालै सेवा दिन असमर्थ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, निर्वाचन कार्याल, नापी कार्यालय, शिक्षा समन्वय इकाई कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन लगायतका कार्यालयहरूको सेवा बन्द भएको छ ।
गत शुक्रबार अविरल वर्षाका कारण आएको भीषण बाढीले सदरमुकाम परासी बजार पुरै डुबानमा परेको थियो । बाढीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना व्यारेक पनि डुबानमा परेको थियो ।
त्यस्तै कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्वास्थ्य कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शिक्षा समन्वय इकाई कार्यालय, नापी कार्यालय, निर्वाचन कार्यालय, विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका करिब एक दर्जन सरकारी कार्यालयहरु डुबानमा परेका थिए ।