चितवन । चितवन जिल्लामा एक आर्थिक बर्षमा ५६ हजार जनाले सेवा लिएका छन् । रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र यस मातहतमा रहेका सेवा केन्द्रबाट आर्थिक बर्ष २०७८/७९ मा ५६ हजार १२३ जनाले सेवा लिएको केन्द्रकी प्रमुख डा.कोपिला अधिकारीले जानकारी दिइन ।
विहीवार जिल्लाका पत्रकारहरुसंग आयुर्वेद स्वास्थ्य सेवाको प्रबर्धनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । अस्पताल र सेवा केन्द्रबाट ९ हजार २९९ जनाले बहिरङग सेवा,२ हजार ८४३ जनाले योग सेवा,२ हजार ७९४ जनाले पूर्वकर्म तथा पञ्चकर्म, एक हजार जनाले ज्येष्ट नागरिक सेवा,१८९ जनाले स्तनपायी आमा तथा शिशु सेवा,११ हजार ४४ जनाले नागरिक आरोग्य स्वास्थ्य सेवा,८१३ जनाले अन्य स्वास्थ्य सेवा लिएको केन्द्रकी प्रमुख डा.अधिकारीले जानकारी दिइन ।
कार्यक्रममा प्रमुख डा.अधिकारीले आयुर्वेद स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने सेवा,त्यसको प्रभाकारिताको बारेमा सहजीकरण गरेकी थिइन । वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रदेशिक आयुर्वेद औषधि उत्पादन केन्द्रका निर्देशक डा.सुरेश महर्जनले चितवनको रत्ननगरबाटै आयुर्वेदिक औषधि उत्पादनको लागि तयारी अन्तिम चरणमा पुगेको बताए ।
रत्ननगरको बकुलहरमा निर्माण गरिएको केन्द्रबाट बैशाखको पहिलो हप्ताबाट औषधि उत्पादनको काम सुरु हुने बताए । उनले केन्द्रले १३३ वटा जडिबुटीको प्रयोगबाट ३६ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्ने तयारी गरेको बताए । यो नेपालकै पहिलो आयुर्वेदिक औषधि उत्पादन केन्द्र हो उनले भने यहाँबाट उत्पादन भएका औषधि देशभरका सरकारी आयुर्वेद अस्पतालमा निःशुल्क रुपमा प्रदान गरिने छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रका बैद्य डाक्टर देवेन्द्र कुमार यादबले सञ्चालन गरेका थिए ।

