चितवन। भारतीय सेनाबाट सेवानिवृत्त भई स्वदेश फर्किने क्रममा रेलमा ४० जनाको डाँका समूहसँग प्रतिकारगरी एउटी युवतीलाई बलात्कार हुनबाट जोगाउने भारतीय सेनाका भूपू सैनिक पोखरा-६ लेखनाथका विष्णुप्रसाद श्रेष्ठलाई रत्ननगर नगरपालिकाले हिजो सम्मान गरेको छ ।
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले श्रेष्ठलाई सम्मान गर्दै वीर गोर्खालीको इतिहास रच्न सफल भएकोमा बधाई तथा सुखद् भविष्यको कामना गरे । सोही अवसरमा विष्णुप्रसाद श्रेष्ठका श्रीमती सीता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा भूपू सैनिक कल्याणकारी क्लब रत्ननगरले पनि भूपू सुवेदार श्रेष्ठलाई सम्मान गरेको थियो । क्लबका अमृत मल्लले संकटको समयमा श्रेष्ठले देखाएको बहादुरी इतिहासको पानामा रहिरहने बताए ।
के थियो घटना ?
घटना सन् २०१० सेप्टेम्बर २ तारिखको हो । जब विष्णुप्रसाद श्रेष्ठ १७ वर्ष भारतीय सेनामा सेवा निवृत्त भएर स्वदेश फर्किने क्रममा राँचीबाट झरखण्ड जाने ‘मौरिया एक्सप्रेस’ रेलमा यात्रा गरिरहेका थिए । मध्यरातमा करिब ४० जना डाँकुको समूहले एकाएक रेलको डिब्बाहरुमा कब्जा जमाउँदै एसी–३ डिब्बामा प्रवेश गरे । उनी ४७ नम्बर सिटमा रहेका थिए । रेलमा यात्रा गरिरहेका यात्रुको गरगहना, मोबाइल, ल्यापटप, नगद र सरसामान लुटिएको थियो । त्रासका कारण सबै स्तव्ध बनेका थिए । यसरी लुटिँदा कसैले पनि प्रतिवाद गर्न सकेनन् ।
जब डाँकुको समूहले उनको छेवैको सिटमा रहेकी १८ वर्षीया युवतीलाई उनकै अभिभावकको अगाडि नै बलात्कारको प्रयास गरे । उनको धैर्यताको बाँध फुट्नै लागेका बेला ती युवतीको चित्कार श्रेष्ठले सुने– ‘भैया मुझे बचाओ’ । यो शब्दले उनको मनमा मानवीय भावना जागृत भयो । उनी भन्छन्, ‘मेरा दिदी–बहिनी थिएनन्, ‘भैया’ सम्बोधनले मलाई साच्चै नै छोयो । मेरो आँखाले एउटी युवती अभिभावककै अगाडि लुटिएको टुलुटुलु हेर्न सकेन । मेरो शरीरमा तातो रगत उम्लिएर आयो अनि कम्मरको खुकुरी निकालेर तीन डाँकुलाई छपाछप छप्काइदिएँ । आठ जना घाइते भई रन्थनिएर ढले ।’
लगातार आधा घन्टासम्म भिडन्त जारी रह्यो । उनले आफूलाई जोगाउँदै डाँकुसँग प्रतिकार गरिरहे । डाँकुको चक्कु प्रहारबाट उनको बायाँ हातमा गहिरो चोट लाग्यो । युवतीको घाँटीमा पनि सामान्य चोट लाग्यो । डाँकुको समूहले युवतीको पूरै कपडा च्यातिदिएको थियो । उनले सेतो च्यादर ओढाएर सम्मान दर्शाए । रेलभित्रको ‘रियल वार’बाट पराजित भएर डाँकुको समूह तितरबितर भयो । रेलभित्रको लडाइँका कारण रेल वेस्ट बंगालको चितारञ्जन जंगलमै रोकिएको थियो । श्रेष्ठको बहादुरीबाट युवतीको अस्मिता रक्षा भयो । डकैती गर्ने तीन जनाको इहलीला समाप्त भयो । चितारञ्जन रेल स्टेशनबाट आठ जना घाइते लुटेरालाई भारतीय प्रहरीले पक्राउ ग¥यो ।
रेलमा यात्रारत युवती एमबिबिएस अध्ययनरत थिइन् । युवतीले श्रेष्ठप्रति आभार प्रकट गर्दै भारतीय मूलधारका मिडियाहरुमा अन्तर्वार्ता दिइन् । भारतीय मूलधारका मिडियाका साथै अन्तर्राष्ट्रिय मिडियाले पनि श्रेष्ठको बहादुरीको प्रशंसा गर्दै ‘न्यूज कभरेज’ गरे ।
श्रेष्ठको अदम्य साहसको उच्च कदर गर्दै भारतीय सेनाले पदोन्नतिसहित आठ वर्ष सेवा अवधि थप गर्दै ‘सेना मेडल’बाट सम्मान ग¥यो । भारत सरकारले राष्ट्रपतिबाट ‘उत्तम जीवन रक्षक’ पदकबाटसमेत विभूषित गरेको थियो । श्रेष्ठ सुवेदार भई सन् २०१८ मा सेवा निवृत्त भए । अहिले उनी भूपू सैनिकलाई संगठित गर्दै समाजसेवा गरिरहेका छन् ।

