चितवन । प्राकृतिक स्रोतको अवैध दोहनसम्बन्धी सूचनाका आधारमा बुधबार जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरी टोलीले रत्ननगर–३ स्थित अवैधरूपमा उत्खनन गरी डम्पिङ गरेको २२५ ट्रयाक्टर नदीजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।
प्रहरीले अवैधरूपमा नदीजन्य पदार्थ ल्याएको अवस्थामा ना ५ त ७०१३, ना ६ त ९६६० र प्रदेश २–०३–००१ त २६२२ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
यस्तै, मंगलबार पनि अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसिबी–१, टिप्पर–६, ट्रयाक्टर–२, अवैधरूपमा डम्पिङ गरी राखेको २१० ट्रयाक्टर नदीजन्य पदार्थ नियन्त्रणमा लिइएको हो । मंगलबार र बुधबार गरी जम्मा ४३५ ट्रयाक्टर नदीजन्य पदार्थ र जेसिबी–१, टिप्पर–६, ट्रयाक्टर–५ गरी १२ वटा साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


