चितवन। कृषि ज्ञान केन्द्र, चितवनले तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरेको छ । आज (आइतवार) बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले उनीहरुलाई पुरस्कृत गर्नुभएको हो ।
पुरस्कृत हुनेहरुमा रत्ननगर नगरपालिका वडा नम्बर १२का केरा कृषक विष्णुहरी पन्त, भरतपुर महानगरपालिका १७मा च्याऊ खेती गर्नुभएका विष्णुबहादुर वि.क र माछापालन गर्दै आउनुभएका माडी नगरपालिका ६का सरोज शाह तेली रहनुभएको छ । सम्मानित हुने विष्णुहरी पन्तले विगत एक दशकदेखि केरा खेती गर्दै आउनुभएको छ । उहाँको अहिले ३५ विघा क्षेत्रफलमा केरा खेती छ । त्यस्तै च्याउ खेती गर्दै आउनुभएका विष्णु बहादुर विकले बार्षिक डेढ करोडको च्याऊ उत्पादन गर्दै आउनुभएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । १० विघामा माछा पालन गर्दै आउनुभएका शाहले कुखुरा, हाँस संगै बाख्रा समेत पालन गर्नुभएको छ ।
उनीहरुलाई प्रतिव्यक्ति १० हजार रुपैंया र सम्मानपत्र प्रदान गरिएको कार्यालयका प्रमुख पाण्डेले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रले हरेक बर्ष तीन जना किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गर्ने गर्दछ । पुरस्कृतका लागि केन्द्रले किसानहरुलाई दरखास्त आह्वान गरेको थियो । निवेदनको आधारमा दरखास्त दिएका सबैको फर्ममा पुगेर जिल्ला कृषि विकास समन्वय समितिले स्थलगत अवलोकन पश्चात उत्कृष्ट कृषक छनोट गरिएको हो । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार छनोट समितिमा कृषि ज्ञान केन्द्र, जिल्ला समन्वय समिति चितवन र भेटेरेनरी अस्पताल रहेको थियो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डे, बाग्मती प्रदेश कृषि विकास निर्देशानालय हेटौडाका निर्देशक भरत प्रसाद विडारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन ईकाई चितवनका प्रमुख धनबहादुर थापा तथा कृषकहरुको उपस्थिति रहेको थियो ।

