चितवन । पोल्ट्री व्यवसायमा जैविक सुरक्षाको मापदण्डको बारेमा रत्ननगरमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम गरिएको छ ।
दसौं पोल्ट्री दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा मासु र अण्डाको महत्व तथा जैविक सुरक्षाको विषयमा छलफल गरिएको थियो । नेपाल भेटेरीनरी एशोसियसन बागमती प्रदेश समितिको संगको सहकार्यमा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आयोजना गरेको कार्यक्रममा विज्ञ केन्द्रका पशु चिकित्सक डा.रामचन्द्र आचार्यले चितवन सहित नेपालमा पोल्ट्रीको अबस्था तथा एशोसियसनका सचिव डा.सन्तोष घिमिरेले मासु र अण्डाको महत्व सहित जैविक सुरक्षाको मापदण्डको विषयमा कार्यपत्र प्रस्तुत् गरेका थिए ।
कायपत्र प्रस्तुत गर्दै आचार्यले पोल्ट्री क्षेत्रको विकासको लागि मासु र अण्डामा पाइने प्रोटिनको महत्वबारे बुझाउनु पर्ने बताए । सो अबसरमा डा. घिमिरेले जैविक सुरक्षा अपनाउन नसके रोगको संक्रमणबाट जोगाउन दिइने खोपले समेत काम नगर्ने बताए । नेपालमा पोल्ट्रीको अबस्था खस्किदो नरहेको भन्दै उनले कोरोनाका कारण केही गिरावट आएको भएपनि त्यो छिट्टै पुरानै अबस्थामा फर्किने बताए । उनले रोग नियन्त्रणको सस्तो र प्रभावकारी विधि जैविक सुरक्षा नै रहेको उल्लेख गरे ।
जैविक सुरक्षा र भइपरी आउने समस्याका बारेमा बेलैमा सचेत नभएका कारण पोल्ट्री क्षेत्र वर्डफ्लु जस्ता रोगहरुको सिकार हुनुपरेको बताए । नेपाल कुखुरा व्यवसायी मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर विसुरालले कोरोना र आर्थिक मन्दीका कारण नेपालको पोल्ट्री क्षेत्र संकटपूर्ण अबस्थामा रहेको बताए ।
नेपालको पोल्ट्री क्षेत्रमा एक खर्ब ६० अर्ब लगानी रहेको भन्दै उनले १० लाखलाई रोजगारी प्रदान गरेको पोल्ट्री व्यवासयीलाईलाई राज्यले उपेक्षा गरेको उनको भनाई छ । वर्डफ्लुको संक्रमणले नष्ट गरेका कुखुराको राज्यले नौ महिना सम्म क्षतिपूर्ति दिँदैन उनले भने किसानको खोर रित्तिएका छन्,बैंकमा किस्ता र साँवा तिनुपर्छ । उनले नेपालमा दैनिक ३० लाख अण्डा र दैनिक १० लाख किलो मासु उत्पादन हुँदै आएको बताए ।
विज्ञ केन्द्रका प्रमुख शुशील केसीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । स्थानीय स्तरमा पूर्वी चितवन कुखुरा व्यवसायी संघको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

