काठमाडौँ। नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परी वेपत्ता भएका तीनजना अझै भेटिएका छैनन्। हुप्सेकोट–४ माथिल्लो चार घरेकी ४० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू करिब सात वर्षीया भुमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बेपत्ताको खोजी जारी रहेको बताए । ‘हिजो दिनभरको प्रयासले पहिरोमा पुरिएको मोटरसाइकल मात्रै निकाल्न सकियो’ मल्ले भने,‘हातले पहिरो पन्छाउन सम्भव छैन, स्काभेटर जाने ठाउँ नभएर पहिरोमा पुरिएकाहरुको खोजी गर्न अफ्ठेरो भइरहेको छ।’
बिहीबार दिनभर मा राति करिब २ बजे गएको पहिरोले ५० वर्षीय हस्तबहादुर पुलामीको घर पूर्णरूपमा क्षति भएको हो। पहिरोमा हस्तबहादुरलाई पुरेको थियो। उनको स्थानीयले तत्काल उद्धार गरी नजिकैको विद्यालयमा राखेका थिए। उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पतालमा लगिएको छ ।
पहिरोमा परी बेपत्ता भएको थाहा पाए लगत्तै स्थानीयसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेका छन् प्रहरीले बताएको छ। बाढीपहिरो र डुवानका कारण देशका बिभिन्न ठाउँमा सडक, घरहरु भत्किएका छन् भने तराईका जिल्लामा सयौ घरहरु डुवानमा परेका छन्। थुप्रै धनमालको क्षति भएको छ।