काठमाडौं। पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लामा गएको बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्।
प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पश्चिममा दुई, रुपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एक/एक जना रहेका छन्। यस्तै बेपत्ता हुनेमा नवलपरासी पूर्वमा तीन, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली र ललितपुरमा एक/एक जना छन्।
मृत्यु हुनेमा पाँच पुरुष र दुई महिला छन्। यस्तै बेपत्ता हुनेमा पाँच महिला र दुई पुरुष छन्। नवलपरासी पश्चिममा मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ पम्फापुरका विनोद प्यासी र उनका १३ वर्षीय छोरा प्रदिप प्यासी छन्। घरमा पहिरो गएपछि छिमेकीको घरमा जाने बेला पानीले डुबेर बाबुछोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार यादवकाअनुसार घट्ना शुक्रबार बिहानको हो। यस्तै सुनवल नगरपालिका- १४ की १० वर्षीया एलिसा तामाङ बेपत्ता भएकी छन्। बेपत्ता भएकी र उनको खोजीकार्य भइरहेको यादवले जानकारी दिए। यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका–४ रोहिणी खोलाले बगाएर ५५ वर्षीया परमेश्वर कर्णको शुक्रबार दिउसो मृत्यु भएको छ।
रुपन्देहीमै तिनाउ खोलामा आएको बाढीले सम्मरीमाई गाउँपालिका–३ बस्ने २३ वर्षीय बब्लु लोधलाई बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ। मलामी गएका दाङको दंगीशरण गाउँपालिका–१ बाकी का ५० वर्षीय बामदेव देवकोटाको बबई नदीले बगाउँदा मृत्यु भएको छ। शुक्रबार बिहान मलामी गएको बेला नुहाउने क्रममा उनलाई बबई नदीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव करिब पाँच सय मिटर तल स्थानीले फेला पारेका थिए।
यस्तै ललितपुरको बागमती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको संगमस्थल शुभाने खोलामा शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतान रहेको मृत्यु भएको छ। उनीसँगै खोलाले बगाएकी ९ बालिका युनिसा बम्जन बेपत्ता भएको महानगरीय प्रहरी वृत चापागाउँले जनाएको छ।
यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको छ। लुगा धुँदै गरेकी थारूलाई अचानक खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। बाढीले बगाएर करिब ७ किलोमिटर पर पुर्या्एको अवस्थामा थारुको शव फेला परेको विष्टले बताए।
धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय पुरन राना कञ्चनपुरदेखि कैलाली आउने क्रममा मोहोना नदीमा बगेर बेपत्ता भएका छन्। घरमा रंग लगाउने काम गर्न दुईजना साथीसँग कञ्चनपुर गएका राना बेलुकी फर्किने क्रममा नदीले बगाएर बेपत्ता भएका हुन्।
प्रहरीकाअनुसार उदयपुरमा पहिरोले पुरेर एक बालकको ज्यान गएको छ। कटारी नगरपालिका–२ मिलन चोकका पोष्टबहादुर मगरको ७ वर्षीय छोरा कर्ण मगरको पहिराले पुरेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयकाअनुसार घर नजिकै आमखहरे खोलामा खेल्न गएका कर्णलाई माथिबाट आएको पहिरोले पुगेर गम्भीर घाइते तुल्याएको थियो। उनलाई उपचारका लागि कटारी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।