काठमाडौं । मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो चार वटा प्रदेशमा भारी वर्षा तथा राति छ वटा प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
दिउँसो प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भाबना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
सोमबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहे पनि अब लगातारको झरी भने कम हुने मौसमविद् मीनकुमार अर्यालले जनाएका छन् ।
वर्षा गराउने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुने उनले जनाएका छन् ।
तथापि केही दिनदेखिको वर्षाले तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा डुबान तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन आह्वान गरिएको छ ।
‘पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव (मभदचष्क ायिध) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ ।