सुर्खेत, सुर्खेत वीरेन्द्रनगरमा रहेको गाटिकाँडा थारु होमस्टे । सहरको कोलाहल वातावरणबाट केही पर । खेतका हरिया आली गह्राहरु । निकै सुन्दर र मनमोहक देखिने ठाउँहरुमा एकैछिन सहरको कोलाहल वातावरणबाट शान्त ठाउँमा बस्नलाई पनि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
करिब तीन करोडको व्यक्तिगत लगानीमा बन्दै गरेको होमस्टे निर्माण सम्पन्न नहुँदै दिनमा एक हजारदेखि पन्ध्र सयसम्म आन्तरिक पर्यटक पुग्ने गरेको होमस्टेका सञ्चालक पूर्ण चौधरी बताउँछन् ।
उमेरले ३५ वर्ष पुगेका चौधरीले करिब दुई बिघा जमिनमा थारु होमस्टे सञ्चाल गरेका छन् । होमस्टे करिब तीन करोडको लागतमा बन्दै गरेको छ ।
होमस्टेभित्रै पानीको फोहोरा, कृत्रिम झर्ना, वाटरसलाइट, डुंगा स्विमिङ पुल, थारु संग्रहालय चिल्डेन पार्क, फन पार्क, भ्युटावरलगायतका संरचना बन्नेछन् । होमस्टेभित्र बाहिरबाट आउनेलाई पार्क छेउमा परिवारसहित आफूलाई मन परेको खाना आफैंले बनाएर खाने व्यवस्था पनि हुने चौधरीको भनाइ छ ।
नेपाली भूमिमै बसेर केही गरौँ भन्ने व्यक्तिलाई सरकारको साथ नरहेको उनको गुनासो छ । करिब १० करोड ऋण दिएर ५० प्रतिशत सरकारलाई तिर्छु भन्दा पनि सरकारले आफूलाई नपत्याएको उनले गुनासो गरे ।
होमस्टेभित्र निर्माण कार्य सम्पन्न नहुँदै बिदाको दिन मात्र दुई हजारजना भन्दा धेरै आउने गरेको सञ्चालक चौधरी बताउँछन् । ‘होमस्टेभित्र बन्ने संरचना पूरा भएका छैनन्, करिब चालिस प्रतिशत मात्र सम्पन्न भएको छ,’ उनले भने, ‘बिदाको दिनमा दुई हजारभन्दा धेरै आउँछन् र अघिपछि साँझविहान पाँच सात सय आउँछन् । निर्माण कार्य पूरा नहुँदै बाहिरबाट थुप्रै आउँछन्, राम्रो सुझाव दिएर जान्छन् त्यहीअनुसार सुझाव मनन गर्दै पनि आएको छु ।’
होमस्टेमा आठ सयले रोजगारी पाएको उनले बताए ।