चितवन । चितवनको टिकौलीमा निर्माण गरिएको पशुपक्षी हाटबजार हस्तान्तरण गरी उद्घाटन गरिएको छ । आयोजनाले मंगलबार पशु हाटबजारको सम्पूर्ण स्वामित्व रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।आयोजनाका निर्देशक डा. उमेश दाहालले मेयर प्रलाद सापकोटालाई पशुपक्षी हाटबजार हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मेयर सापकोटाले छिट्टै कार्यविधि बनाएर पशु हाटबजार सञ्चालनमा ल्याइने जानकारी दिए ।

आयोजनाले पशुपक्षी हाटबजार स्थानीय सरकारलाई हस्तान्तरण गरेपछि त्यसको औपचारिक उद्घाटन गरिएको हो ।पशुबस्तुको व्यापारिक केन्द्रको रुपमा विकास गर्न नेपाल सरकारले रत्ननगरमा पशुपक्षी हाटबजार निर्माण गरेको हो ।तीन बिघा क्षेत्रफलमा बनेको पशुपक्षी हाटबजारमा भैँसी, गाई, बाख्रालगायतका पशुको किनबेच हुनेछ । पशु बेच्न टाढाबाट आएका किसानलाई बास बस्न, रगत, गोबर चेकजाँच गर्ने पशु चिकित्सक प्रयोगशाला तथा डिस्पेन्सरी, पानीखाने डुड, बजार व्यवस्थापक र सञ्चालक समिति कक्षका लागि दुई तले किसान भवन बनाइएको छ । यस्तै, चमेनागृह, शौचालय, पशुलाई राख्न होल्डिङ वार्ड (टहरो) लगायतका संरचनाहरु बनेका छन् । हाट बजारमा किसानले विभिन्न स्थानबाट ल्याएका पशुको पशु चिकित्सकबाट स्वास्थ्य चेकजाँच गरी स्वस्थताको प्रमाणपत्र दिएर मात्र बिक्री गर्न पाइने छ ।नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले रु ३ करोड २१ लाख ९५ हजार ५ सय रुपैयाँको लगानीमा स्वास्थ्य सेवासहितको पशुपक्षी हाटबजार निर्माण गरेको हो ।
बिक्री गर्न ल्याइएका पशुपक्षीको तौल हेरेर रु १० देखि रु १०० सम्म शुल्क बिक्रेताबाट लिइने रत्ननगरका पशु शाखा प्रमुख शालिग्राम पौडेलले जानकारी दिए । शंका लागेका पशुको रगत र गोबर परीक्षण गरी रोग देखिएमा बिक्री गर्न नपाइने उनले बताए । चितवन जिल्ला दुग्ध उत्पादक संघका सचिव किशोर बगालले पशुपालनको क्षेत्रमा नेपाल सरकारले स्वागतयोग्य काम गरेको बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका उप प्रमुख यादव पाठक, आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, आर्थिक विकास समितिका सदस्य हेमराज थापा, जिल्ला समन्वय समिति चितवनकी सदस्य सविता चौधरीलगायतको उपस्थिति रहेको थियो ।

