चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं ३ मा खानेपानीको धारा जडानको लागि घरदैलो गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्त संस्था अन्तर्गत वडामा बनेको समन्वय समितिले खानेपानी जडान नगरेका घरघरमा पुगेर धारा जडानको लागि आग्रह गरेको छ ।
समितिका संयोजक शम्भुभक्त थपलियाको नेतृत्वमा वडा भित्र रहेका १६ वटा टोल विकास संस्था अन्तर्गतका घरधुरीमा घरदैलो गरिएको हो । रत्ननगर खानेपानीले सेवा क्षेत्र भित्रका सबै घरधुरीमा खानेपानीको धारा जडान गर्ने उद्देश्यले २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
घरदैलोमा पुगेका खानेपानीका प्रतिनिधिहरुले २५ प्रतिशत छुटको बारेमा जानकारी गराउदै धारा वडाको लागि प्रेरित गरेको संयोजक थपलियाले जानकारी दिए । वडा भित्र रहेका एक हजार २०० घरधुरी मध्ये ३०० घरधुरीमा धारा जडान नगरेको पाइएकाले उनीहरुलाई तत्काल धारा वडान गरी खानेपानीको सुविधा लिन आग्रह गरिएको समन्वय समितिकी सदस्य गीता सिंखडाले जानकारी दिइन ।
मंसिर १२ गतेबाट सुरु भएको घरदैलो शुक्रवार समापन गरिएको छ । संस्थाका सचिव प्रताप डल्लाकोटी प्रमुख अतिथि रहेको समापन कार्यक्रम वडा समन्वय समिति सचिव मनहरि खनालले सञ्चालन गरेका थिए ।

